नेपालमा रहेको भारतीय दुतावासले विषादी परीक्षण रोकेको स्पष्ट भएको छ । भारतीय दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पठाएको पत्रमा भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण गर्न नमिल्ने जिकिर गरिएको छ ।

पत्रमा भनिएको छ, ‘पुनः परीक्षणको आवश्यकता गैरभन्सार अवरोधजस्तै भएको र यसले व्यापार रोकिएको छ । अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना नभएको पत्रमा उल्लेख छ ।

भारत र नेपालबीच दशकौंदेखि कायम रहेका द्विपक्षीय व्यापार व्यवस्था अनुरूप नेपाल सरकारका सम्बन्धित निकायलाई यस पत्रमार्फत नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी चेकजाँच नगर्न सम्वन्धित मन्त्रालयलाई आग्रह गरिएको छ ।

भारतीय दूतावासले सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरभन्सार अवरोधको तत्काल कार्यान्वयनका लागि आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्न मन्त्रालयलाई दवाव दिएको छ ।

नेपालमा फलफूल र तरकारी बेच्न नपाएको भन्दै भारतीय व्यापारीहरुले दूतावाससम्म गुनासो पुर्याएपछि भारतिय दूतावासले नेपाललाई पत्राचार गरेको हो । दुतावासले लेखेको पत्रमा भारतको दी नेसनल प्लान्ट प्रोटेक्सन अर्गनाइजेसन र एग्रिकल्चरल प्रोसेड फुड प्रडक्टस एन्ड एक्सोपर्ट डेभलपमेन्ट अथोरोटीले जारी गरेको प्रमाणपत्र नेपाललाई मान्य हुने भन्दै दवाव दिएको छ ।

Leave a Reply