बेनीमा व्युटीपार्लर व्यवसायसम्बन्धी तालिम सकियो

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा तीन महिने व्युटी पार्लरसम्बन्धी तालिम मङ्गलबार बेनीमा सम्पन्न भएको छ । महिलाहरुलाई रोजगारी सिर्जना तथा व्यवसायिक सिपबाट आत्मनिर्भर बनाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयको सहयोगमा २५ जना महिलालाई तीन महिने व्युटीपार्लर तालिम दिइएको हो । फूर्सदको समयलाई सदुपयोग गर्दै महिलाहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले सिपमूलक तालिमको रुपमा व्युटीपार्लर तालिम उपयुक्त रहेको म्याग्दीको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताइन् ।

उनले तालिममा सिकेको सिपलाई व्यवहारमा पूर्ण रुपले उतार्न तालिमका सहभागीलाई आग्रह गरेकी छिन् । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय म्याग्दीका वरिष्ठ उद्योग अधिकृत सरिता गौतमले तालिममा सिकेको ज्ञान, सिपलाई व्यवहारमा उतारेर व्यवसायिक र स्वरोजगार बन्न आग्रह गरेकी थिइन् । त्यस्तै कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए । रोयल व्युटीपार्लर एण्ड ट्रेनिङ सेन्टर बेनी म्याग्दीको प्रोपाइटर संगिता श्रेष्ठले तीन महिनासम्म २५ जनालाई व्युटी पार्लरसम्बन्धी तालिम प्रदान गरेकी थिइन् ।

कार्यक्रमको अध्यक्षता ग्रहण गरेका सामाजिक विकास मन्त्रालय पोखराका उपसविच भीमप्रसाद तिवारीले तालिममा सिकेको सिपलाई आम्दानीको बाटोतर्फ अघि बढाउन सहभागीहरुलाई आग्रह गरेका थिए । प्रदेशले महिलाहरुलाई रोजगारी बनाउने उद्देश्यले व्यवसायमूलक तालिमको आयोजना गरिएको जानकारी दिए ।  ३ महिने असिसेन्ट व्युटिसियन तालिम समापन कार्यक्रमको सञ्चालन आरती रिजाल र स्वागत मन्तव्य संगिता श्रेष्ठले राखेको कार्यक्रममा सहभागी सिय्रा पौडेलले अनुभव मन्तव्य राखेकी थिइन् ।