पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि जिल्लास्तरीय अन्तरमावि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र द्वितीय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु गरिएको हो । जिल्लाका ६ वटा स्थानीय तहका विद्यालयहरु सहभागी भएको प्रतियोगिता खुल्लामञ्चमा सुरु भएको छ । पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभाका सदस्य भूपेन्द्र थापाले गरेका थिए ।

प्रतियोगिता उद्घाटन गर्दै उनले देशलाई स्वच्छ प्रतिस्पर्धा अनुसार अन्तर्राष्ट्रिय रुपमा चिनाउने माध्यम खेलकुद भएको हुँदा विद्यालयस्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई सहयोग पुग्ने बताए । सांसद थापाले संघीय संरचना अनुसार स्थानीय तहहरुसँग समन्वय गरेर गरिएको प्रतियोगिताले जिल्लाको खेल क्षेत्रको थप पहिचान बनाउन सहयोग पुग्ने बताउँदै खेल क्षेत्रको पूर्वाधार विकासका लागि संघीय सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

गण्डकी प्रदेशका सांसद विनोद केसीले राष्ट्रपति कप सञ्चालन भएदेखि म्याग्दीबाट धेरै खेलाडीले राष्ट्रियस्तरमा सहभागी भएर जिल्लाको नाम चिनाउन सफल भएको बताउँदै खेलप्रति स्थानीय तह जिम्मेवार बन्न आग्रह गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारी दुई दिनसम्म हुने प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए । प्रतियोगिताको उद्घाटनसत्रमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, नेकपा म्याग्दीका अध्यक्ष गोविन्द्र पौडेल, नेपाली कांग्रेसका जिल्ला उपसभापति माधवप्रसाद रेग्मी र सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

जिल्लास्तरीय प्रतियोगितामा सहभागी भएर प्रथम हुने खेलाडीहरुलाई २६ र २७ गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताएका छन्। कक्षा १२ सम्म अध्ययन गर्ने १८ वर्ष सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोेगितामा छात्र÷छात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टतर्फ उसु, तेक्वान्दो र कराँते विधाका खेलहरु सञ्चालन गरिने भएको छ ।

स्थानीय तहका विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने प्रतियोगितामा विजेतालाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका अनुसार पुरस्कार प्रदान गरिने अध्यक्ष विश्वकर्माको भनाइ छ । पोखरामा हुने प्रतियोगितामा म्याग्दीबाट अफिसियलसहित ७८ जना खेलाडीहरु सहभागिता जनाउने छन् । प्रदेशमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी २९, ३० र ३१ गते काठमाण्डौमा हुने राष्ट्रपति कप प्रतियोगितामा सहभागी हुन पाउने छन् । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विश्वकर्माको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन अमृत बास्कुनेले गरेका थिए । १५ सय मिटरको दौडमा छात्रतर्फ राष्ट्रिय माविका आर्य खत्री र छात्रातर्फ गलेश्वर माविका रमिला खत्री प्रथम भएका छन् ।