दरबाङको छ्यारछ्यारेमा बहुउपयोगी खेल मैदान निर्माण

म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङको छ्यारछ्यारेमा १ सय दुई रोपनी जमिनमा खेलमैदान निर्माण गरिएको छ। म्याग्दी खोलाको नजिक रहेको क्षेत्रमा निर्माण सुरु गरिएको खेलमैदानलाई बहुउपयोगी बनाउने गरी गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १५ लाख र गाउँपालिकाले १५ लाख लगानीमा मैदानको निर्माणकार्य सुरु गरिएको वडा अध्यक्ष सन्तनाथ सुबेदीले  बताए।‘खेलमैदानलाई क्षेत्रीयस्तरको बनाउने प्रयासमा छौ,‘गाउँपालिकास्तरका खेलहरु यही सञ्चालन गरिनेछ’ सुबेदीले भने ।

उनका अनुसार जनप्रिय माविको खेलमैदानसँगै म्याग्दी नदीको छेउमै अवस्थित खेलमैदानलाई आवश्यकता अनुसार पूर्वाधार विस्तार गर्नुपर्ने बताए । तत्कालिन समयमा बि.श २०४५ असोज महिनामा पहिरोले निस्कोट तथा छारछ्यारेमा १ सय जनाको हाराहारीमा ज्यान गुमाएकाको सम्झना समेत हुने भएकाले अभियानमा सहयोग गर्न अनुरोध गरेका थिए ।लामो समयसम्म बृक्षारोपण गर्दा समेत कुनैपनि हुर्कन नसकेपछि खेलमैदान सहित गाउँपालिकाको दिर्घकालिन योजनाहरुलाई केन्द्रित गरी पूर्वाधार विस्तारको प्राथमिकता दिइएको छ ।

म्याग्दी नदीको छेउमै अवस्थित मैदानलाई घेराबार सहित भौतिक पूर्वाधार निर्माणका लागि कति खर्च लाग्ने डिपिआर तयार गरेपछि गाउँपालिकाले प्रदेश र संघीय सरकारसँग योजना माग गर्ने गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनका अनुसार एकैपटक धेरै खेल खेल्न सकिने गरी पूर्वाधार बनाउने योजना रहेको बताए । मैदानको लम्बाई १ सय ७० र चौडाई १ सय २५ मिटर रहेको छ ।

मैदानमा फूटबल, भलिबल क्रिकेट ग्राण्ड, एथलेक्टिक ट्र्याक, प्याराफिटसहितको व्यवस्थित भवन लगायतका अन्य खेल मैदान निर्माण गरिने गाउँपालिकाले जनाएको छ । व्यवस्थित बहुउपयोगी खेल मैदान सहित खेलमैदान आसपासका क्षेत्रमा मालिका गाउँपालिकाको कार्यालय, बसपार्क, हरियाली पार्क सहित गाउँपालिकाका विभिन्न पूर्वाधारलाई समेत प्राथमिकता दिएको जनाइएको छ ।