विषादीविरुद्ध म्याग्दीका स्थानीय तहः आग्र्यानिक उत्पादनमा प्राथमिकता

म्याग्दीका स्थानीय तहहरुले विषादी विरुद्धको अभियान शुरु गरेका छन् । विषादीयुक्त भारतीय तरकारीको आयात नियन्त्रण गर्न संघीय सरकार असफल भइरहेका बेला म्याग्दीका स्थानीय तहले आआफ्नो क्षेत्रका कृषकहरुलाई आग्र्यानिक तरकारी उत्पादनका लागि प्रोत्साहन गर्ने नीति लिएका छन् । म्याग्दीका ६ स्थानीय तहमध्ये ४ वटाले रासायनिक मल र विषादीको प्रयोग नियन्त्रण र न्यूनीकरणलाई नीति तथा कार्यक्रममा नै समावेश गरेर विषादी रहित तरकारी र फलफूल उत्पादन गर्ने कृषकलाई विशेष प्रोत्साहनको समेत व्यवस्था गरेका छन् ।

मंगला गाउँपालिकाले विषादी सून्य अभियान नै संचालन गरेर तरकारी र फलफूलमा मात्रै होइन खाद्यान्न बालीमा समेत रासायिनक मल,विषादी र औषधीको वहिष्कार गर्दै मानव मूत्रको प्रयोग थालेको छ । त्यसका लागि सार्वजकि स्थान,विद्यालय लगाएत कृषकहरुले घरघरमा ड्म र मूत्र संकलनका लागि भाँडाहरु राख्ने र मूत्र संकलन गर्न अनुकुल हुने खालका शौचालय समेत निर्माण गरेका मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।त्यसैगरी अन्नपूर्ण,रघुगंगा,मालिका र बेनी नगरपालिकाका केही वडाले पनि आग्र्यानिक उत्पादन अभियान शुरु गरेका छन् ।

तरकारी तथा फलफूलमा हुने रसायनिक विषादीले मानव स्वास्थ्य तथा पर्यावरणमा नकारात्मक असर र्पुयाउने ठहर गरी म्याग्दीका विभिन्न स्थानीय तहले यसको उपयोगमा समेत कडाई गरेका हुन् ।विषादी मुक्त स्थानीय तह बनाइँदै म्याग्दीको मंगला गाउँपालिकाले २ वर्षमा गाउँपालिकालाई नै रसायनिक मल र विषादी मुक्त बनाउन भन्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । मंगलाले गत वर्षदेखि नै कृषि प्रणालीलाई रसायनीक मल र बिषादीमुक्त बनाउने अभियान सञ्चालन गर्दै आएको हो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले रासायनिक मल तथा विषादीको विकल्पको रुपमा उपयोग हुने जैविक मल र विषादीको उत्पादनका लागि किसानलाई सहयोग गर्दै आएको बताउनुभयो ।यसैगरी अन्नपूर्ण गाउँपालिकाले पनि विषादी रहित उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर कृषकहरुलाई अनुदान र सामाग्री सहयोग गर्ने भएको छ ।
उता मालिका गाउँपालिकाले वडा नं ७ मा पर्ने विम गाउँलाई पूर्ण आग्र्यानिक उत्पादनको गाउँ घोषणा गरेको छ ।

विममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कडेलले शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुलाई आग्र्यानिक उत्पादनको आधुनिक तरिका,प्रयोगात्मक विधि र प्राङ्गारिक मल उत्पादनका विषयमा विशेष कक्षाको नै व्यवस्था गरिएको जानकारी दिनुभयो । विममा जेटिए, आइएससी (एजी) तीन वर्षे वालि विज्ञान र पशु विज्ञानको पढाइ हुँदै आएको छ ।

रासायनिक मलको विकल्पका रुपमा उपयोग गर्न सकिने जैविक मल र विषादी उत्पादनका लागि किसानलाई तालिमसमेत प्रदान गरिएको उहाँले बताउनुभयो ।त्यसैगरी रघुगंगा गाउँपालिकाले खेतबारीदेखि भान्सासम्ममा रसायनिक मल र विषादीको प्रयोगलाई न्यूनीकरण गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भववहादुर भण्डारीले बताउनुभयो । यहि नीतिअनुसार गाउँपालिकाले जैविक ढंगबाट कृषि उपज उत्पादनका लागि कृषकहरुलाई विशेष सहुलियत प्रदान गर्न लागिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।