अर्गानिक तरकारी उत्पादनमा व्यस्त म्याग्दीका युवकहरु

रतबाट आयातित विषादीयुक्त तरकारी खान बाध्य नेपालीहरुले विषादी रहित तरकारीको विकल्प खोजीरहेको बेला म्याग्दीका केही युवाहरु अर्गानिक तरकारी उत्पादनमा लागेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा युवाहरुले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेर सामुहिकरुपमा आग्र्यानिक तरकारी खेती शुरु गरेका हुन् ।

विभिन्न क्षेत्रमा संलग्न ५ जना युवाहरुले ७ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेति सुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टी बानियाँ, मनोज कार्की लगाएतका युवाहरु सामुहिक रुपमा आग्र्यानिक तरकारी खेतीमा लागेका हुन् । ५ जना युवकले १० लाख लगानी गरी सुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेडा, काँक्रो, खुर्सानी, साग लगायतका आग्र्यानिक तरकारी फलाएर बजारमा विक्रि गर्दै आएका छन् ।

‘‘हामी अहिले फरक फरक क्षेत्रमा क्रियाशिल युवाहरु मिलेर कृषिमा हात हालेका हौँ,बजारमा विषादी युक्त तरकारीको विकल्पमा हामीले विषादीरहित आग्र्यानिक तरकारी बेच्दै आएका छौं’’ युवा कृषक मनोज कार्कीले बताउनुभयो । ‘कृषिमा सम्भावना देखेरै लगानी गरेका छौँ, अहिले सुरुवात चरणमा छाँै,बजारमा हाम्रो उत्पादन खोसाखोस हुन्छ, यो व्यवसायलाई विस्तार गर्दै जाने हाम्रो योजना छ’’– कार्कीले भन्नुभयो ।

म्याग्दी खोलाको किनारमा रहेको जग्गालाई १५ बर्षसम्मको लागि भाडामा लिएका युवाहरुले गोलभेडा खेतिको लागि ४ वटा टनेल निर्माण गरेर गोलभेडा,खुर्सानी लगाएतका तरकारी लगाएका छन् । टनेलमा लगाएका गोलभेंडा विक्रि गरेर एक सिजनमा ४ लाख रुपैयाँ आम्दानी भएको कृषक कार्कीले बताउनुभयो ।तरकारी खेतीमा हाईटेक प्रविधिको उपयोग गरि मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

तरकारी खेतीमा थोपा सिचाई र प्लाष्टिक छापाको प्रविधि प्रयोग गरिएको छ । तरकारी खेती संगै माछापालन, फुलखेती, कुखुरापालन समेत शुरु गरेको अर्का कृषक जगत बानियाँले जानकारी दिनुभयो । कृषि प्राविधिक समेत रहेका बानियाँका अनुसार, भाडामा लिईएको जग्गालाई घेराबार गर्ने , माछापालन र कुखुरापालनको लागि थप पोखरी र खोर निर्माणको पूर्वाधार निर्माण गर्न लागिएको छ ।

सो कृषि उत्पादन केन्द्रमा अहिले नियमित २ देखि ४ जनाले रोजगारिको समेत अवसर पाएका छन् । सदरमुकाम बेनीदेखि नजिकै सञ्चालन गरिएको कृषि उत्पादन केन्द्रबाट उत्पादन हुने कृषि उपजलाई बजारीकरणको समस्या नरहेकाले युवाहरुले सुरु गरेको कृषि खेती सफल हुने स्थानीय अगुवा क्याप्टेन मिनबहादुर कार्कीले बताउनुभयो ।

यस केन्द्रलाई कृषि उपज उत्पादनसंगै कृषक पाठशालाको रुपमा समेत विकास गर्ने योजना रहेको लगानीकर्ताहरुको भनाई छ ।कृषि पेशामा युवाहरुको आकर्षण बढाउनको लागि आफुहरुको कृषि उत्पादन केन्द्रलाई पाठशालाको रुपमा विकास गर्ने योजना बनाएको कृषक एवम् कृषि प्राविधिक बानियाँले बताउनुभयो । उहाँले कृषि उत्पादन केन्द्रमा नयाँ अभ्यासको रुपमा मानव मुत्रलाई समेत मलको रुपमा प्रयोग गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।