बाँदर खेल्ने भिरालो जमिनको खरबारी बन्यो फलफुलबारी (फोटो कथा)

भिरालो पाखोमा खरबारी र आसपासका क्षेत्रमा खेतीयोग्य जमिन पनि बाँझै । एकबर्ष अगाडीसम्म दिउँसै चितुवा देखिने खरबारीमा अहिले लटरम्म काँक्रा, बोडी, सिमी, करेला र टमाटर फलेका छन् । पर्वतको जलजला गाउँपालिका वडा नं ७ मिलनचोक केराबारीआसपासमा खेर गएको जमिनमा केरा, आँप, लिची, कागती र एभोगाडा, ओखर लगाएत विभिन्न फलफुल गरी १२ सय विरुवा लगाइएको छ।

खेर गएको जमिनलाई सदुपयोग गदैं बेनी नगरपालिका वडा नं ८ कालिपुलका खेम केसीले करिव १० लाखको लागतमा संरचना सहित फलफुल र तरकारी खेती विस्तार गरेका छन् । बाँदर खेल्ने र अलपत्र परेको खरबारीलाई नमुना फलफुल र तरकारी खेतीको पकेट क्षेत्र बनाउन केसीले आफ्नो नियमित ब्यवसायसँगै दैनिकजसो तरकारी र फलफुल खेतीमा ब्यस्त हुने गरेका छन् ।

कालिपुलमा मोटरसाईकल वर्कसप तथा मर्मत केन्द्र, तरकारी र किराना पसल सञ्चालन गरिरहेका केसीले करिव १५ रोपनी जमिनमा तरकारी र फलफुल खेती गरेका छन् । बेनीमा विषादीरहित तरकारी तथा फलफुल विक्री गर्ने गरी केसीले एकबर्षमै ठुलो लगानी गरेको बताए । ‘खरबारीलाई फलफुलबारी बनाउँदै छु,‘पहिलोबर्षमै उत्साहित छु’ केसीले भने ।

उनले दैनिकजसो आफ्नै पसलबाट तरकारी विक्री गर्ने गरेको बताउँदै केहीबर्षमा फलफुल समेत बजारमा लैजाने बताए। भिरालो पाखो सहित बाल्यकालमा विताएका दिनहरुलाई सम्झिएर फलफुल सहित तरकारी खेतीमा सक्रिय भएको उनले बताए । ‘बजारको समस्या छैन्,‘रोजगारी दिने गरी नयाँ योजना समेत बनाएको छु’ केसीले भने । करिब ५० रोपनी जमिनमा हाल जम्मा १५ रोपनी प्रयोग गरेको बताए ।

उनले तरकारी र फलफुलमा अर्गानिक मलको ब्यवस्था गरेका छन् । बेनी–मालढुगा सडकखण्डबाट अस्थायी पदमार्ग समेत बनाएर निर्माण साम्रागी ढुवानी गरेका केसीले आफ्नो दाजुभाईका जग्गा समेत गरी ५० रोपनी नै प्रयोग गर्ने बताए । उनले अर्गानिक मलका लागि विज्ञ सहित घाँसको सदुपयोग गर्न भैसीपालन गर्नेलाई सहयोग गर्ने बताए । माटोको परिक्षण गरी थप विभिन्न प्रजातीका फलफुलको विरुवा विस्तार गर्ने योजना रहेको उनले बताए ।