यसरी पूरा भयो हिराबहादुरको घरमा बस्ने सपना

चरम गरिबीका कारण जीवन अस्ताउनै लागेको उमेरमा ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा बस्दै आएका ६५ वर्षिय हिरावहादुर पुर्जाको घरमा बस्ने र मिठो खाने सपना पूरा भएको छ । बेनीअनलाइनले गत असार २३ गते आढारमा बास, न आफन्त र न खाने गास भन्ने शिर्षकमा  समाचार प्रकाशित भएपछि पूर्जालाई बस्ने घर र खाद्यान्न सहयोग प्राप्त भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं १ तिप्ल्याङमा एकमहिना देखि ओढारमा ८० वर्षिय दाजु लोदेसंग झगडा भएपछि बस्दै आएका थिए । पहिला पहिला दुई भाइले गाउँमा ज्याला मजदुरी गरेर खाने गर्थे । दाजु लोदेवास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको समाचार प्रकाशित भएलगत्तै सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो। हिरावहादुर ओढारमा वस्न थालेको कुरा जानकारीमा आएपछि वडाअध्यक्ष विलवहादुर फगामी सहित वडाका जनप्रतिनिधिले सक्रियता देखाएपछि लत्ताकपडा, खाद्यान्न सहित गाउँपालिकाले घर नै बनाइदिने भएको छ ।

गाउँपालिका अध्यक्षसँग कार्यक्रम अन्तरगत घरको छाना विस्थापित गरेर टिनको छाना राख्ने अभियान अन्तरगत वडाबाट पहल भएपछि गाउँपालिका अध्यक्ष भब बहादुर भण्डारीले नै स्थलगत रुपमा अनुगमन गरी सहयोगको घोषणा गरेका हुन् ।‘उहाँलाई संस्थागतसँगै आवश्यक परे ब्यक्तिगत सहयोग पनि गर्नेछु’ भण्डारीले भने । उनले गाउँपालिकाभित्र विपन्नताका कारण कसैलाई समस्या परेको जानकारी भए सम्पर्क राख्न अपिल समेत गरे ।‘दुखमा साथ दिने जनप्रतिनिधिले नै हो,‘संस्थागत नभए ब्यक्तिगत सहयोग भएपनि गछौ’ भण्डारीले भने ।

कार्यपालिकाको बैठकबाट हिराबहादुर र उनका दाई तुलबहादुरको लागि पहिलो घर बनाउने अभियान सुरु गरेको गाउँपालिका प्रमुख भवबहादुर भण्डारीले बताए । तिप्लाङ्गका स्थानियहरुको सहयोगमा ३ आना जग्गा उपलब्ध गराएर उनको घर निर्माण गर्ने तयारी गरिएको भण्डारीको भनाई छ ।आवश्यक खाद्यान्न सहयोग समेत गरिएको छ । तत्काललाई २० थान जस्तापाता, शौचालय बनाउन आवश्यक पर्ने साम्रागीका साथै एकलाख रुपैयाँ उपलब्ध गराइएको छ । वडा अध्यक्ष बिलबहादुर फगामीले नागरिकता सहित घरलाई समयमै सम्पन्न गर्ने बताए ।

Read more: आढारमा बास, न आफन्त र न खाने गास