मनसुन शुरुभएपछि म्याग्दीलाई राष्ट्रिय राजमार्ग जोड्ने मध्यपहाडी लोकमार्गको बेनी–पोखरा खण्डको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । स्तरोन्नतिको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ खण्डका ठाउँठाउँमा मोटरसाईकल र अन्य सवारीसाधनमा यात्रा गर्ने यात्रुलाई माथीबाट ढुंगा खसेर चोटपटक लाग्न थालेपछि यात्रु त्रसित अवस्थामा छन् ।

सडकखण्ड अन्तरगत पर्वत र कास्कीमा पर्ने खण्डमा जुनसुकै बेला पनि पहिरो खस्नसक्ने भएकाले जोखिमपूर्ण बनेको हो ।वर्षा शुरु भएपछि धेरै ठाउँमा पहिरो झरेको छ, भने कटान गरिएका भिरमा जुनसुकै बेला पनि पहिरो खस्ने सम्भावना छ। सडकको पर्वत खण्डमा पर्ने कुश्मादेखि पातीचौरसम्म र डिमुवादेखि नयाँ पुल खण्ड तथा कास्कीमा पर्ने नयाँ पुलदेखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातायात अवरुद्ध भइरहेको छ ।

जुनसुकै बेला पनि माथिबाट पहिरो झर्ने सम्भावना भएकाले यात्रुलाई सचेत भएर यात्रा गर्न आह्वान गरिएको सडक स्तरोन्नतिको काम गरिरहेको एपेक्स कन्ट्रक्सनका परियोजना प्रबन्धक काशीराज बोहराले बताए । निरन्तर पहिरो झर्ने र सफा गर्न समेत कतिपय अवस्थामा कठिन हुने भएकाले यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको उनले बताए ।
एउटा स्काभेटर तयारी अवस्थामा राखेर पहिरो हटाउने काम भइरहेको बोहराले जानकारी दिए । पहिरो जाने स्थान नजिकबाट झोबाङ हुँदै वैकल्पिक सडक रहेको छ ।

सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभिर, आम्बोट र भ्याप्लेखोला नजिकको भिर, चुवा नजिकैका भिरमा पनि पहिरोको उच्च जोखिम छ । सडकखण्डमा मोटरसाईकलमा यात्रा गर्ने क्रममा सचेत रहन अनुरोध गरिएको छ । हिलाम्मे सडक र माथीबाट सानो ढुंगा खस्दा समेत चोटपटक लाग्ने भएकाले यात्रामा सर्तकता अपनाउने प्रहरीले समेत अनुरोध गर्ने गरेको छ ।पहिरो गएको अवस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुश्मामा स्काभेटर तयारी अवस्थामा राखिएको लामा कन्ट्रक्सनका परियोजना प्रबन्धक गोविन्द भुसालले जानकारी दिए । गएको वर्ष पनि यी स्थानमा भारी वर्षा हुँदा पहिरो र लेदोका कारण पटक÷पटक सडक अवरुद्ध भएका थिए ।

Leave a Reply