मनसुन सुरुभएपछि एकसाता अगाडी पहिरोले अवरुद्ध बेनी–जोमसोम–कोरला सडकखण्डलाई ठाउँठाउँमा अवरुद्ध भयो । म्याग्दी र मुस्ताङ खण्डमा सडक अवरुद्धसँगै बेलिब्रिज समेत कालिगण्डकी नदीको कटानले जोखिममा परेको छ । सडकखण्डको केही भाग छियाछिया बनेको छ । उत्तरी म्याग्दी र मुस्ताङबाट आवतजवात गर्न चाहनेलाई सर्वसाधारणदेखि पर्यटकसम्मले ज्यानलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् ।

यात्रामा रहेका यात्रु आसपासमा सधैजसो देखिने इन्द्रसिंह शेरचनले अलपत्र परेका यात्रुलाई जोखिम मोलेर वारपार गराउँछन् । सर्वसाधारणदेखि मन्त्रीसम्मलाई हात समातेर पालैपालो पहिरोबाट सुरक्षित साथ गन्तब्य तर्फ ल्याउने गरेका शेरचनले एकहप्तामा करिव १ सय ७० जनाभन्दा धेरैलाई उद्धार गरेका छन् । बालबालिका देखी बृद्धबृद्धासम्मलाई सडक अवरुद्ध भएपछि शेरचनले आफ्नो होटल ब्यवसायलाई समेत छोडेर विहानै देखी मध्यरातसम्म यात्रुको सेवामा खटिन्छन् ।

आङ सिरिङ हुने कहालीलाग्दो भीरमा यात्रुलाई बोकेरै सुरक्षित गन्तब्यतर्फ पु¥याउने गरेका शेरचनले यात्रुको आर्शिरवाद बाहेक केही लिदैनन् । ‘एकहप्तामै धेरै जोखिम मोलेर उद्धार गरेको छु,‘आफ्नै ज्यान जोगाउन पनि मुस्किल हुन्छ’ शेरचनले भने । उनले विहान ४ बजे देखी राती १० बजेसम्म यात्रुलाई म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र मुस्ताङको थासाङ् गाउँपालिका–४ को सिमानमा पर्ने काभ्रेभीरमा हातमा लौरो र लाइट लिएर यात्रुलाई कुर्ने गरेका छन् ।‘समयमै खानपिन गर्न पाएको छैन्,‘यात्रुको समस्याले खाना पनि रुच्दैन्’शेरचनले भने ।

उनका अनुसार सडक अवरुद्ध हुदाँ तिर्थयात्रीका साथै पर्यटकबाट गलत सन्देश प्रवाह हुनसक्ने भएकाले पनि जोखिम मोलेर यात्रुलाई सुरक्षित गन्तब्य तर्फ पठाउन सक्रिय भएको बताए । ‘एउटा पर्यटकले फैलाएको गलत सन्देशले पर्यटन ब्यवसायमा ठुलो असर पर्छ,‘पर्यटकको सुरक्षाका लागी सरकारी निकायबाट त्यती चासो देखाएको देखिएको छैन’ शेरचनले भने । यसबर्ष महभीरको बेलिव्रिजलाई नदीले कटान गरेको पहिलो तस्वीर नै सामाजिक सञ्जालमा हालेका शेरचनले तस्वीरसँगै यात्रुलाई उद्धार तथा अवरुद्ध सडक खुलाउन समेत भोकै कुद्ने गरेका छन् ।

‘केहीदिन अवरुद्ध भएको सडक आज खुलेको छ,‘भोली फेरी अवरुद्ध भए जानुपर्छ’ शेरचनले बेनीअनलाइनलाई भने । उनले सडकखण्डको स्तरउन्नतीसँगै विस्तारको क्रममा कटानले जोखिम पारेपछि यात्रुलाई सुरक्षित तरिकाले गन्तब्यमा पुग्ने वातावरण बनाउनु नै प्रमुख आवश्यकता रहेकाले पनि बृद्धबृद्धालाई बोकेरै वारपार गर्ने गरेको बताए ।

अग्लो पहराहरूबाट खसेको ढुंगाले समेत चोट लागेर घाईते हुने अवस्थालाई मध्यनजर गरी पहिल्यै सचेत गराउने गरेका छन् । शेरचनको खुट्टा चिप्लिएर घाउ भएको छ भने केही भाग सुनिएको छ । भारतीय दुतावासबाट समेत आफ्ना नागरिकलाईयात्राको क्रममा जोखिमपूर्ण ठाउँका बारेमा जानकारी गराएर पठाएकाले भविस्यमा पनि यात्राको वातावरण बनाउन एक्लै सक्रिय हुनपरेको बताए ।उनले यात्राको क्रममा हिड्न नसक्ने तीर्थयात्रीको हेलिकप्टरमार्फत समेत उद्धार गरिएको बताए ।

मुक्तिनाथ मन्दिरको भ्रमणमा आउने भारतीयको संख्या अत्याधिक बढेपनि कालिगण्डकी नदीको कटान र पहिरोले ठाउँठाउँमा अवरुद्ध हुदाँ एकमहिना यता यात्रुले निकै ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । गुनासो सुन्ने सरकारी निकायले बेवास्ता गरेको गुनासो समेत पर्यटकले सुनाउने गरेका छन् । उद्धारको क्रममा साना ढुंगाले खुट्टामा च्याप्दा समेत यात्रुको सुरक्षामा तल्लिन रहेको बताए । ७६ किलोमिटर दुरी रहेको सडकखण्डको स्तरउन्तीको क्रममा जथाभावी ढुंगामाटो नदीमा फाल्दा नदीको धार परिवर्तन गरेपछि ब्यापक क्षती पुगेको थियो भने कडा चट्टामा माथिबाट पहिरो खस्दा सडक असोज महिनासम्म नियमित सञ्चालनमा समस्या हुने गरेको छ ।

Leave a Reply