बेनी नगरपालिकाले बजेट अभावलाई कारण देखाउँदै सामुदायिक स्वास्थ्य र सहरी स्वास्थ्य केन्द्रलाई सञ्चालनमा हेलचेक्राई र मापदण्डभन्दा न्यून सुविधा दिने गरेको पाइएको छ । नेपाल सरकारले स्वास्थ्यकर्मीलाई तोकेको सुविधाभन्दा झन्डै आधा तलब दिने गरेको पाइएको छ ।

नगरपालिकाबेनी नगरपालिका वडा नं ५ पुलाचौरको सेतढुंगा, डडुवा, वडा नं ६ थाकनपोखरी र प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा सञ्चालन गरिएको इकाईमा कार्यरत करारका स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकेको मापदण्डभन्दा विपरित न्यून तलब उपलब्ध गराउने गरेको पाइएको हो ।नगरपालिका भित्र स्वास्थ्य चौकीसम्म आवतजावत गर्न नसक्नेलाई लक्षित गरी सञ्चालन गरिएको इकाईलाई विगतमा बर्षमा जस्तै संघीय तथा प्रदेश सरकारबाट चालु आवमा बजेट प्राप्त नभएकाले सञ्चालनमा समस्या देखिएको बेनी नगरपालिका स्वास्थ्य शाखाकी प्रमुख लिला गौतमले बताईन् ।

‘नगरपालिकाबाटै तलब सुविधा उपलब्ध गराउनुपर्ने देखिएको छ,‘शिर्षकमा बजेट नआएपछि समस्या भएको छ’ गौतमले भनिन् । स्वास्थ्य इकाईलाई नगरपालिका र ब्यवस्थापन समितिमार्फत नै तलबभत्ता उपलब्ध गराउने गरिएको अवस्थामा चालु आवमा स्रोत ब्यवस्थापनमा समस्या देखिएको छ ।

नगरपालिकाको आन्तरिक स्रोतबाटै सञ्चालन गर्न नसकिए बन्द गर्ने तयारी गरिएको छ । नगरपालिकाभित्र स्थापना गरिएका स्वास्थ्य इकाईहरुमार्फत घरदैलोमै सेवा प्राप्त गरेका छन् भने गलेश्वरमा रहेका बृद्धबृद्धालाई बरदान सावित भएको छ।आश्रमभित्रै रहेको इकाईमार्फत नियमित चेकजाँच सहित विरामीलाई बेनी अस्पतालसम्म ल्याउन स्वास्थ्यकर्मीले नै सहयोग गर्ने गरेका छन् ।

‘सेवा प्रवाहमा कुनै कमी छैन्,‘सेवाग्राहीलाई सेवामा अभाव हुन दिएका छैनौ’ उनले भनिन् । नेपाल सरकारले आधा देखि १ घण्टाको दुरीमै स्वास्थ्य सेवाको अवधारणा ल्याइरहेको अवस्थामा नगरपालिकाभित्रका इकाई सञ्चालनमा नगरपालिकाको प्राथमिकतामा परेको छैन्। इकाई सञ्चालन तथा ब्यवस्थापनमा विनियोजित बजेट उपलब्ध गराउन समेत नगरपालिकाले कन्जुस्याई गर्ने गरेको स्वास्थ्यकर्मीको गुनासो छ ।

संघीय सरकारले नगरपालिकालाई एकमुष्ट बजेट उपलब्ध गराएपनि शिर्षकलाई देखाएर इकाईमा समेत नियमित नहुन सक्ने भन्दै खवर गरेको ब्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाले स्वास्थ्य चौकी नजिक भएकालाई क्षेत्रमा स्वास्थ्य शिविरको नाममा गत आवमा ९ लाख बजेट विनियोजन गरिएको थियो । नगरकार्यपालिकाको बैठकबाट स्वास्थ्य इकाईमा बजेट विनियोजन नगरे बन्द हुने नगरपालिका स्रोतले जनाएको छ ।

स्वास्थ्यकर्मीलाई न्यून तलब
स्थायी स्वास्थ्यकर्मीलाई नियमित तलब उपलब्ध गराउँदै आएको नगरपालिकाले इकाईमा कार्यरत स्वास्थ्यकर्मीलाई भने केहीमहिनाको तलब सोमबार एकमुष्ट उपलब्ध गराएको छ । नियमित तलब समेत प्राप्त नगरेका इकाईमा कार्यरत अहेवको तलब २२ हजार हुनुपर्नेमा जम्मा १२ हजार दिइएको छ ।

इकाईमा दुईजना स्वास्थ्यकर्मीको दरबन्दी रहेको छ । स्वास्थ्य चौकी सरह नियमित चेकजाँच, खोप सहित आकस्मिक उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले तोकेको तलब समेत नगरपालिकाले उपलब्ध गराउन सकेको छैन् । जिल्लाकै अन्य स्थानीय तहले भने आन्तरिक स्रोतबाटै मापदण्ड अनुसार तलब स्केल उपलब्ध गराउने गरेपनि नगरपालिकाले हेलचेक्राई र बेवास्ता गरेको छ । तालिम सहित आवश्यक उपकरणको उपलब्ध गराउन ब्यवस्थापन समितिले समेत बेलाबेलामा सचेत गराउने गरेको छ ।

Leave a Reply