आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि म्याग्दीका दुई खेलाडी समेत कप्तानको दावेदारीमा छन् । नेपाल भलिबल संघले विनिता बुढाथोकी र उप–कप्तान मन्जु गुरुङलाई टिम बाहिर राखेर २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेसँगै राष्ट्रिय टोलीका अनुभवी खेलाडी रघुगंगा गाउँपालिका ३ पिप्लेकी अरुणा शाही र मालिका गाउँपालिका वडा नं २ रुमकी कमला पुनको समेत टोलीको नेतृत्व गर्ने बलियो दावेदारका रुपमा देखिएका छन् ।

गत १४ जेठमा संघले गठन गरेको ५ सदस्यीय छनोट समितिले तयार गरेको खेलाडीको सुचीमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा आफ्नो उत्कृष्ट प्रस्तुती देखाइसकेका शाही र पुनलाई टोलीमै राम्रो जिम्मेबारीको सम्भावनासहित छनौट गरिएको थियो। कप्तान र उप कप्तान नतोकि टोली सार्वजनिक गरिएपछि महिला भलिबल टोलीको कप्तान को होला भन्ने विषयमा चौतर्फी कौतुहलता छाएको अवस्थामा विगतका खेलको अनुभव तथा सक्रियताले समेत यसपटक म्याग्दीले राष्ट्रिय टोलीको नेतृत्वको अवसर पाउने सम्भावना बलियो भएको भलिबल प्रशिक्षक एबम् हालै भारतमा प्रशिक्षणमा समेत उत्कृष्ट भएका तेजेन्द्र बानियाँले बेनीअनलाइनलाई बताए ।

उनले खेलमा विगतमा अन्तिम समयमा नाटकीय परिवर्तन जस्तै गरी विजय बनाउन सफल शाही र निरन्तर आफ्नो लयमा रहेकी पुनलाई सम्मानजक जिम्मेबारीको सम्भावना देखेको बताए ।शाहीले गण्डकी प्रदेशकी मात्रै नभई नेपाली राष्ट्रिय टोलीको आशा नै हुन् । स्पाइकर (हाल लिफ्टर) अरुणाले २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेकी शाहीले टोलीको नियमित सदस्य छिन् । उनले राष्ट्रिय टोलीबाट माल्दिभ्ससँगको मैत्रीपुर्ण, भारतसँगको मैत्रीपुर्ण, साउथ एसियन आमन्त्रण भलिबल च्याम्पियनसिप, एभीसी सेन्ट्रल जोन र १२औं दक्षिण एसियाली खेलकुद (साग) खेलेकी छन् । अरुणा सिनियरको आधारमा पनि कप्तान बन्ने बलियो सम्भावना छ ।

उनको खेलबाट भलिबल संघ समेत उत्साहित छन । यता राष्ट्रिय टोलीका पुराना खेलाडीमध्ये कमला पुन पनि एक हुन्। घुँडाको चोटका कारण कमला विश्रामपछि भर्खर मैदान फर्किएकी छिन् । राष्ट्रिय टोली र विभागीय नेपाल पुलिस क्लबबाट यसअघि लिवेरोको भुमिका खेलिरहेकी उनले दुई वर्षअघिदेखि आफ्नो पोजिसन बदलेर सेटर (लिफ्टर) को भुमिकामा खेलिरहेकी छिन् । २०१४ मा माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेकी उनले करिव एक दर्जन खेल खेलिसकेका छन् । उनलाई पनि अबको राष्ट्रिय टोलीको सम्भावित कप्तानको रुपमा हेरिएको छ ।

Leave a Reply