गरिमा विकास बैंकले होलीडे काउन्टर संचालन गर्ने

गरिमा विकास बैंकले ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी शनिबार र अन्य सार्वजनिक विदाका दिनहरुमा होलीडे काउन्टर संचालन गर्ने भएको छ । म्याग्दी जिल्लामा सबैभन्दा धेरै ग्राहकको सञ्जाल रहेको बैकले बेनी शाखामार्फत दिउँसो १० देखि १ बजेसम्म काउन्टर सञ्चालन गर्ने बेनी शाखा प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए । ‘सेवाग्राहीलाई सहज हुनेछ,‘ होलीडे सेवासँगै वित्तिय साक्षरता कार्यक्रम लिएर ग्रामिण क्षेत्रमा पुग्छौ’ ढुंगानाले भने ।

उनक अनुसार देशभरका शाखामध्ये म्याग्दीको बेनी, पोखराको महेन्द्रपुल शाखा, काठमाण्डौको गोंगबु तथा न्युरोड शाखा, रुपन्देहीको बुटवल शाखा तथा चितवनको नारायणघाट शाखाबाट होली डे सेवा दिइने छ ।काठमाण्डौको न्यूरोड शाखाले दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म सेवा दिने भएपनि अन्य शाखाको सेवा दिने समय एउटै रहेको बैकले जनाएको छ ।

होलीडे काउन्टरमार्फत एउटा चेकमा २ लाखसम्मको भुक्तानी, इसिसी, निक्षेप तथा खाता खोल्न मिल्ने छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गरिमा विकास बैंकको ८० शाखा रहेको छ । म्याग्दीको सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बावियचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी पोखरेबगरमा शाखा विस्तार गरेको गरिमाले जिल्लाका सबै बस्तीमा जनतालाई बैकिङ पहुँचभित्र राख्ने गरी शाखाबाट सेवा उपलब्ध गराउने गरेको छ ।