‘मायालु डाँडा’मा बन्यो ‘हरियाली पार्क’

पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि लोभलाग्दो गन्तव्यस्थल बन्दै गएको ‘मायाँलु डाँडा’ मा ‘हरियाली पार्क’  निर्माण भएको छ। सरदरमुकाम बेनी बजारसंगै जोडिएको बेनी नगरपालिका २ खबराको लभ्लिहिल (मायालु डाँडा) मा डिभिजन बन कार्यालय म्याग्दीको रु १२ लाखको लगानीमा  हरियाली पार्क निर्माण गरिएको पार्क निर्माण समितिका अध्यक्ष हरिलाल घिमिरेले जानकारी दिए। पार्कमा कपुर,पोनोकस्ताम,लण्डन धुपी र गोल्डेन धुपी गरी ४ प्रजातीका ५४ ओटा विरुवाहरु रोपिएको छ।

गत माघदेखि लभ्लीहिल (मायालु डाँडा) मा पार्क निर्माण शुरु गरिएको थियो। डेढ रोपनी भन्दा बढि क्षेत्रफलको जग्गामा निर्माण गरिएको सो पार्क यस क्षेत्रकै सवैभन्दा सुन्दर र बालबालिका,युवायुवती र वृद्धवृद्धाका लागि अलग अलग विश्राम स्थल रहेको निर्माण समितिका अध्यक्ष घिमिरेले बताए। घिमिरेका अनुसार पार्कको सुरक्षाका लागि वरीपरी ३० मिटर लम्वाइको पक्की पर्खाल समेत निर्माण गरिएको छ।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास भएको मायाँलु डाँडामा पार्क निर्माण भएपछि पर्यटकको संख्यामा उल्लेख्य बृद्धिहुने निश्चित रहेको स्थानीय बुद्धिजीवि धु्रबलाल कार्कीले बताए। सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दुरीमा रहेको ‘मायाँलु डाँडा’ (लभ्लीहिल) मा हिजोआज म्याग्दीका मात्रै होइन देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुका साथै विदेशीहरुको समेत भीड लाग्न थालेको छ।

लभ्लीहिलमा रेलिङ, गोलघर,खाजाघर लगाएतका पूर्वाधारहरु निर्माण गरिएपछि पर्यटकहरुको आकर्षण बढ्दै गएको हो।  साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्लीहिल बन्न पुगेको छ। म्याग्दी सदरमुकाम बेनीबजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्लीहिलमा अहिले दिनहुँजसो सयौंको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ।

स–साना बालबालिकादेखि पाका उमेरका मानिसहरु लभ्लीहिलमा पुग्ने गरेका छन्। लभ्लीहिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनीबजारलाई पिठ्युँमा पारेर फोटो खिच्न खासगरी तन्नेरीहरु पुग्ने गर्छन्। लभ्लीहिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिसहरु आउने गरेको स्थानीयको भनाई छ।

पहिले केही सीमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्लीहिल बनेपछि समूह–समूह बनाएर दैनिक रुपमा युवा पुस्ताहरु पुग्ने गरेका छन्। सामान्य समयमासमेत लभ्लीहिलमा मानिसको उपस्थिति देखिन्छ भने विदाको समय र शनिबारको दिनमा त झन् भीडै लाग्ने गरेको छ। प्रायः कलेज पढ्ने उमेरका युवायुवतीहरु लभ्लीहिलमा देखिन्छन्। प्रवासी म्याग्देलीहरुलाई साझेदार बनाएर नयाँ अवधारणा अनुसार हाँडेभीर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ।

पदमार्ग निर्माण भएपछि लभ्लीहिलमा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको बेनी नगरपालिका २ का वडाअध्यक्ष हिराबहादुर थापाले बताए। बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्रहरु देख्न सकिन्छ। यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सुर्यास्तकोसमेत मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ।

बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ। केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्लीहिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्नेगरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीहरुले माग गरेका छन्। लभ्लीहिल पुग्नका लागि पदमार्ग, रेष्टुरेन्ट, भ्यू टावर, स्वीमिङ पुललगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउनेस्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसाय समेत फस्टाउने सम्भावना रहेको छ।