क्रियाशिल पत्रकारको क्षमता अभिवृद्धि गर्न तथा भाषा र प्रविधिको प्रयोगमा दख्खल बनाउने उद्देश्यका साथ भाषा एवं प्रविधिसम्बन्धी तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखाको आयोजनामा शनिबारदेखि सदरमुकाम बेनीमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन गर्दैैै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लामा क्रियाशिल पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नका लागि तालिममा सहयोग गरिएको बताए । उनले जिल्लाको विकास निर्माण, आर्थिक–सामाजिक रुपान्तरण, समाज परिवर्तन, शैक्षिक तथा विकासका गतिविधिलाई बाहिर ल्याउन पत्रकार र सञ्चारमाध्यमको ठूलो भूमिका रहेकोमा जोड दिँदै विकास निर्माणमा हुने ढिलासुस्तीलाई खबरदारी गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकको निर्माणकार्य ढिलासुस्ती भएको भन्दै प्रमुख केसीले बेनी–दरबाङ सडक, बेनी अस्पतालको भवन निर्माण र केही जलविद्युत आयोजना निर्माणमा ढिलाई देखिएको बताए । उनले जिल्ला समन्वय समितिको तर्फबाट संघ र प्रदेशका योजनाहरुको अनुगमन तथ समन्वय भैरहेको भए पनि स्थानीय तहहरुको योजनाको चेकलिष्ट माग्दा नदिइएको गुनासो गरे । जिल्ला सभाबाटै अनुमोदन गरेर स्थानीय तहको योजनाका लागि जिल्ला समन्वय समितिले अनुगमन गर्ने भनेर सुझाव दिँदा समेत स्थानीय जनप्रतिनिधि र कर्मचारीले वेवास्ता गर्ने गरेको उनको भनाइ छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले म्याग्दी जिल्लामा विदेश जानेजत्तिको आकर्षण पत्रकारिता क्षेत्रमा नभएको बताए । उनले स्थानीय तहलाई आएको बजेटको पूर्ण रुपमा कार्यान्वयन हुनुपर्ने भन्दै अझै पनि सरकारी सेवासुविधा लिने क्रममा नागरिकमाथि बिचौलियाहरुले चलखेल गर्ने गरेको दावी गरे । उनले जिल्लामा बालकल्याण समिति नहुँदा बालबालिकाको समस्या समाधानका लागि कठिनाई भैरहेको बताउँदै यसको समाधान गर्न स्थानीय तह अग्रसर हुनुपर्नेमा जोड दिए । भू–उपयोग नीति नबनाउँदा विकासले गति लिन नसकेको उनले बताए ।

जिल्ला समन्वय अधिकारी ज्ञानराज कोईरालाले दीगो विकास हुन नसकेको अवस्था रहेकाले जुनसुकै योजना तथा आयोजना सञ्चालन गर्दा पनि अनिवार्य रुपमा डिपिआर बनाउनुपर्ने बताए । उनले डिपिआर अनुसार योजनाको कार्यान्वयन गर्न सकेमा मात्रै विकासका गतिविधिले दीगो रुप हासिल गर्न सक्ने धारणा राखेका थिए । पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा जिल्लाका स्थानीय तहले डुब्लिकेसन गरेको हुँदा त्यसको रिपोर्टिङतर्फ पत्रकारले ध्यान दिनुपर्ने बताए ।

तालिमको अग्रज पत्रकारद्वय अखण्ड भण्डारीले भाषा र रजनीश भण्डारीले प्रविधिका विषयमा सहजीकरण गरिरहेका छन् । दुई दिनसम्म चल्ने तालिममा जिल्लाको स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा क्रियाशिल पत्रकार एवं सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । तालिमको उद्घाटनसत्र पत्रकार महासंघ म्याग्दीका अध्यक्ष शर्माको अध्यक्षता, उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत र सचिव गोरखनाथ सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply