गरिमा विकास बैंक बेनी शाखाले गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बेनी नगरपालिका–९ घतानको तोरिपानीमा पुगेर १ सय १० जनालाई वितरण गरेको छ । विगतमा आफन्तको सहयोगमा बैंकभित्र लाइनमा बसेर भत्ता बुझ्ने गरेका स्थानीयलाई घरदैलोमै सेवा दिने उदेश्य अनुसार बैंकका कर्मचारीले गाउँमै वितरण गरेपछि बृद्धबृद्धा उत्साहित भएका छन् ।

‘भत्ता बुझ्न बेनी गएपछि खर्चमै सकिन्छ,‘हामीलाई सधै गाउँमै भत्ता दिनुहोला’ पुतली सार्कीले भनिन् । भत्ता लिन आएका पुतलीसँगै चन्द्रदत्त उपाध्याय, दिले दमाई र अमृता खत्रीले समेत विगतमा दिनभरी लाइनमा बसेर समेत भत्ता नपाएको बताउँदै गाउँमै भत्ता पाएपछि समय र पैसाको बचत भएको बताए ।

ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई वडा कार्यालयमै आउन समेत समस्या हुने भएकाले वडा कार्यालयमार्फत जनप्रतिनिधको सहयोगमा घरमै गएर वितरणलाई प्राथमिकता दिएको बेनपाकी कार्यपालिका सदस्य गोरी दर्जीले बताईन् ।वडाका ४ सय ५० जनालाई भत्ता वितरण गर्न जनप्रतिनिधि सहितको उपस्थितीमा भत्ता वितरण गरेको बैंकका कर्जा शाखाका  जित गर्बुजाले बताए । उनका अनुसार वडाभित्र तोरिपानीमा वितरण गरिएपनि नेप्टेचौर, घतान र गलेश्वर क्षेत्रमा वितरण गर्न बाँकी रहेको बताए ।

बृद्धबृद्धालाई गाउँमै गएर सेवासँगै बैंकमार्फत भविस्यमा ल्याउन सकिने सामाजिक उत्तरदाहित्वका कार्यक्रमहरुलाई समेत प्राथमिकता दिने शाखा प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए। उनका अनुसार म्याग्दीभित्र रहेका चारवटै शाखाले ग्रामिण क्षेत्रमा सामाजिक सुरक्षा भत्ता बाहेकपनि थप सेवाहरुमार्फत पुग्ने निति रहेको बताए । जिल्लामा सबै ६ वटै स्थानीय तहमा सरकारी तथा निजी बैंकसँग भत्ता वितरणको सम्झौता भएपनि नीजि बैंक वडामै पुग्ने भएपनि कृषि विकास बैकमार्फत बेनी नगरपालिकाभित्रका केही वडाका बृद्धबृद्धालाई भत्ता पाउनु फलामको चिउरा चपाएजस्तै हुने गरेको छ ।

Leave a Reply