बेनी–जोमसोम–कोरला सडकको गुईठेभीरमा पहिरोले सडक अवद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाखण्डमा माथिबाट कडा चट्टान खसेर सडक थुनिँदा यात्रुलाई सास्ती भएको छ । कालिगण्डकी नदीको कटान र पहिरोले ठाउँठाउँमा अवरुद्ध भएपछि धरापमा रहेको सडक दैनिकजसो अवरुद्ध हुन थालेपछि यात्रुले जोखिम मोलेर पैदलमार्ग तथा सवारीसाधन परिवर्तन गरी गन्तब्यमा पुग्ने गरेका छन् ।

मनसुन सुरु भएयता भएको अवरुद्धलाई जोखिम मोलेर मेसिन र मजदुरले पन्छाउने गरेपनि सडक स्तरउन्नतीको क्रममा चर्किएको कडा चट्टान नै खस्न थालेपछि मर्मतमा विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘सुख्या पहिरो खसेपछि सडक अवरुद्ध भएको छ,‘सिधा सञ्चालनमा केही दिन लाग्न सक्छ’ शेरचनले भने । उनका अनुसार गुईठेभीरको अवरुद्ध हटाउन नेपाली सेनाको टोलीले विष्फोटक पदार्थ समेत तयारी अवस्थामा राखेको बताए । भारतमा विभिन्न जिल्लाबाट मुक्तिनाथ मन्दिरको दर्शनका लागि निस्किएका भारतीय पर्यटकको समुह पहिरोले अलपत्र परेको छ ।

 

सिधा सञ्चालन हुन दुईदिन लाग्ने

७६ किलोमिटर दुरी रहेको सडकखण्ड अवरुद्ध सडक मर्मतमा अझै समय लाग्ने भएको छ । लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावट, कालिगण्डकी नदीको कटानले छियाछिया पारेको छ भने मोटरेबल पुल समेत जोखिममा छ ।

सडकखण्डका विभिन्न ठाउँमा नदी कटान र पहिरोले क्षती पुगेपछि स्थानीयबासी, पर्यटकले ज्यानै जोखिममा पारेर यात्रा गर्नुपरेको छ । भारी बर्षापछिको बाढीपहिरोले म्याग्दी र मुस्ताङमा थुप्रै स्थानमा चर्किएको र भासिएको छ । मुस्ताङ जाने पर्यटकका साथै मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने धार्मिक पर्यटकले अन्नपूर्ण गाउँपालिका ३ दानाबाट पैदलयात्रा गरी पैरोथाप्ला, कोप्चेपानी हुदै वारपार गर्ने गरेका थिए । भुरुङ्ग तातोपानी, दाना र घाँसाको सिमानामा धेरै अवरुद्ध हुने गरेको छ ।

गण्डकी प्रदेशको लाइफ लाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरउन्नतीमा डोजर,स्काभेटर, ब्रेकेरको प्रयोगले समेत धेरै ठाउँमा चर्किएको पहाडबाट लगातार ढुंगा खस्ने गरेका छन् । हरेक बर्ष कालिगण्डकीले धार परिवर्तन गरिरहेको छ । सडक भासिएपछि कल्भर्ट, नाली र सडक सबै क्षतविक्षत बनेको छ । एकसाताभित्र सडकलाई नियमित सञ्चालनको प्रयास भइरहेको छ । सडक अवरुद्ध हुदाँ पर्यटन ब्यवसाय संकटमा परेको म्याग्दी होटल एण्ड रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य ‘बाबुराम’ले बताए ।

Leave a Reply