म्याग्दी प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई ठूला नेतालाई पक्राउ गरेको छ । जिल्लामा पार्टीका गतिविधिमा सक्रिय रहेका तत्कालीन धवलागिरि ब्यूरो सदस्य हाल म्याग्दी इञ्चार्ज कमानसिंह नकाल क्षेत्री (विकिरण) र म्याग्दी जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई  बेनी नगरपालिका वडा नं ३ भकिम्लीको नयाँपुलबाट पक्राउ गरेको हो । प्रतिबन्धपछि ग्रामिण क्षेत्रमा लुकिछिपी बस्दै आएका माओवादीका नेताका बारेमा जानकारी पाएपछि प्रहरीले विषेश निगरानी गरी पक्राउ गरेको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

शाक्य र क्षेत्री दुवैलाई पक्राउ गरेपछि म्याग्दीमा विप्लवको शक्तीलाई धक्का लागेको छ । पक्राउ परेका दुवै नेतालाई थप अनुसन्धान भइरहेको छ । जिल्लाको ग्रामिण क्षेत्रबाट आवतजावत गर्ने नेताहरुका बारेमा सुराकी पाएपछि प्रहरीले केहीदिन यता ब्यापक खोजीकार्य गरेको छ । विप्लवलाई प्रतिबन्ध लगाएपछि म्याग्दीमा पहिलोपटक ठुला नेताहरु पक्राउ परेका छन्।पक्राउ परेका नेताद्वयलाई म्याग्दी जिल्लाको स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधि, व्यापारी तथा सरकारी कर्मचारीलाई धम्क्याएर जबरजस्ती चन्दा असुली गर्ने गरेको प्रहरी नायब उपरीक्षक मरासिनीको भनाइ छ ।

यसैगरी गएको फागुन ११ गते राति म्याग्दीका ५ ओटा एनसेलको टावरमा भएको आगजनीमा समेत संलग्न भएको मरासिनीले पाइएको बताए ।।पक्राउ परेका क्षेत्री र शाक्यको साथबाट ध१प २१७० नम्बरको यामाहा मोटरसाइकल र तीन ओटा मोबाइल सेट बरामद गरिएको छ । उनीहरुमाथि अहिले अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । विप्लवलाई प्रतिबन्ध लगाएपछि म्याग्दीमा पहिलोपटक ठुला नेताहरु पक्राउ परेका छन्।

 

Leave a Reply