तीनबाली हुने खेतमा रोपाई बाँकी रहेकाले यस वर्षको साउने सोमबारको पहिलो दिन गलेश्वर मन्दिरमा पुजाआजा गर्न आउने भक्तजनको भीड पातलिएको छ । बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित मन्दिरमा अनुकल मौसष भएपनि भक्तजनको संख्या कम रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । म्याग्दीमा साउनको पहिलो सातासम्म जम्मा ५० प्रतिशत धान रोपाई सकिएपनि अधिकांस बस्तीका साथै छिमेकी जिल्लाहरुमा समेत रोपाईकै चटारो रहेकाले पनि भक्तजनको संख्यामा कमी आएको कोषका सचिव माधवप्रसाद रेग्मीले बताए ।

उनका अनुसार मन्दिरमा पुजा गर्नका लागि म्याग्दीसहित चितवन, कास्की, पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरु आएका थिए । भक्तजनहरुको संख्या पहिलोमा कम भएपनि बाँकी सोमबार उत्साहजनक हुने उनले बताए । साउन महिनाको प्रत्येक सोमबार विशेष गरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पुरा हुने इच्छासहित चोखो निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्दछन् ।

भगवान् शिवजीलाई मनपर्ने साउन महिना र सोमबारका दिन हातमा मेहेन्दी र हरियो चुरा लगाई हरियै पहिरनमा सजिएर महिलाहरू शिवालय जाने गर्छन् । सत्ययुगमा पार्वतीको गलापतन भएर गलेश्वर नामाकरण भएको मन्दिर प्रसिद्ध मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा चिनिन्छ । पवित्र कृष्णागण्डकी (कालीगण्डकी) नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

Leave a Reply