अविरल बर्षासँगै पश्चिम म्याग्दीमा म्याग्दी खोला थुनिदाँ पानीको सतह ह्वात्तै बढेको छ । धौलागिरी हिमालको फेदीबाट बग्ने म्याग्दी खोला धवलागिरी गाउँपालिका–४ मुदीको खिवाङ आसपासमा करिव २ घण्टा थुनिँदा पानीको बहाव डर लाग्दो किसिमले बढेको हो । बुधबार दिउँसो म्याग्दी खोला थुनिएको हल्ला चलेपछि पश्चिम म्याग्दीको तटिय क्षेत्रमा प्रहरीले उच्च सर्तकता अपनाउन अनुरोध गदैं सुचना प्रवाह गरेको थियो। म्याग्दी र गुर्जा खोलाको संगमस्थल खिवाङ आसपासका क्षेत्रमा पहिरो गएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले बताए ।

धवलागिरी, मालिका, मंगला र बेनी नगरपालिकाको तटिय क्षेत्रमा रहेका सर्वसाधारणलाई हटाएको थियो । खोला थुनिएपछि छिमेकी बागलुङ र पर्वतमा समेत खवर गरिएको प्रहरीले जनाएको छ । म्याग्दी नदीको सतह बढेपछि कालिगण्डकी नदीको बाहवलाई समेत केहीबेर अवरोध गरेको थियो ।कालिण्डकी नदीको बाहवलाई रोक्दा केहीबेर म्याग्दी र कालिगण्डकीको संगमस्थल दोभानमा पानीको पोखरी जस्तै भएको थियो ।

नदीको सतह बढेसँगै छिमेकी जिल्ला प्रशासन कार्यालयले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन अपिल गरेको थियो । खोलामा बालुवा निकाल्दै गरेका सर्वसाधारणको भागभाग भएको थियो ।धौलागिरी गाउँपालिका–४ मुदीको माथिल्लो भेगमा केहीदिन यता भिषण बर्षा भइरहेको थियो । बाढीले नदी नियन्त्रणका लागि बनाइएको तटबन्धनमा समेत समान्य क्षती पुगेको छ ।

पहिरो गएको स्थलमा अवलोकनका लागि इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेको नेतृत्वका एक टोली परिचालन गरिएको छ । विगतमा समेत मुदी आसपासमा पहिरो जाँदा म्याग्दी नदीमा बाढी आएको थियो । बाढीले घरायसी समानसँगै सुकेको दाउरा बगाएर ल्याएको छ । यसैबीच बाढी पूर्वानुमान महाशाखाले म्याग्दी खोलाको पानीको सतह मापन गरेको छैन। बर्खायाममा म्याग्दी, कालीगण्डकी र सहायक नदी मानिने गूर्जा, रघुगंगा खोलाको बाढीले क्षती पु¥याउने गरेको छ ।

Leave a Reply