अवरुद्ध बेनी–जोमसोम–कोरला सडक सिधा सञ्चालनमा भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानास्थित गुईठेभीरमा अवरुद्ध भएको सडक विष्फोटक पर्दाथको प्रयोग गरी ठुला चट्टान पन्छाएसंगै बिहिबार साँझदेखि सञ्चालनमा आएको छ । अविरल बर्षाले अवरुद्ध सडक बेनी–जोमसोम–कोरला आयोजनाका डोजर, स्काभेटरका साथै नेपाली सेनाको टोलीको टोलीले विष्फोटक पर्दाथको प्रयोग गरी सडकलाई सञ्चालनमा ल्याएको पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । ‘लगातारको प्रयासबाट सडक खुलेको छ,‘भीरबाट ढुंगा खस्न सक्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ’ शेरचनले भने ।

उनका अनुसार सडकखण्डकै जोखिम मध्येको गुईठेभीरको अवरुद्ध पन्छाउन आवश्यक पर्ने विष्फोटक पर्दाथको प्रयोग तथा परिचालन सुस्त भएपछि गाउँपालिका अध्यक्ष डमबहादुर पुन सहितको टोली समेत स्थलगत रुपमै पुगेर प्राविधिक पक्षलाई दवाव दिएको पर्यटन ब्यवसायी शेरचनले बताए ।‘समयमै विष्फोटक पदार्थको प्रयोग नहुँदा एकदिन ढिलाई भयो,‘सडक अवरुद्ध भएलगत्तै मर्मत गर्ने संयन्त्र बनाउन जोड दिएको छु’ अध्यक्ष पुनले भने ।

गण्डकी प्रदेशको लाइफ लाइन मानिएको सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिकासँग समेत समन्वय गरी ठेकेदार कम्पनीलाई ताकेता गरिएको बताए । गत असारमा बर्षासंगै सडकखण्डका विभिन्न स्थानमा कटान र पहिरोले छियाछिया भएपछि साँझ यातायातका साधन सञ्चालन नगर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । उनले निर्माणधिन अवस्थामा रहेको सडकमा सावधानीपूर्वक आवतजावत गर्ने सूचना प्रवाह गरिएको बताए ।

लगातारको बर्षा, भिरालो जमिन,भूमिगत पानी, कमजोर भु–वनावटका कारण यात्रुले सास्ती खेप्नुपरेको छ । मुस्ताङलाई राष्ट्रिय राजमार्ग संग जोड्ने ७६ किलोमिटरको सडकखण्ड अन्र्तरगत सबैभन्दा जोखिमपुर्ण म्याग्दीको दाना देखी मुस्ताङको घाँसासम्म पर्छ।