म्याग्दीको ग्रामिण क्षेत्रमा सञ्चालित नीजि विद्यालयले अनुमति लिएकोभन्दा बढी कक्षा सञ्चालन गरिरहेका छन् । जिल्लाभर रहेका २१ नीजि विद्यालयमध्ये ५ वटाले अनुमतिभन्दा माथिका कक्षा सञ्चालन गरेका छन् । अङ्ग्रेजी माध्यमको शिक्षाप्रति बढ्दो आकर्षणले सञ्चालन अनुमति लिएपछि कक्षा थप गर्न अनुमति नै नमाग्ने गरेको पाइएको हो ।

अभिभावकले चासो नदिँदा र नियमक निकाय पनि मौन बसिदिँदा नेशनल प्रोग्रेसिप ईङ्लिस बोर्डिङ् स्कुल, पूलाचौर एकेडेमी, धौलागिरी ईङ्लिस बोर्डिङ् स्कुल, रुम नमुना ईङ्लिस बोर्डिङ् स्कुल, सिद्धार्थ बोर्डिङ् स्कुलले कक्षा १–५ को अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गरेको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले बताए ।

‘अनमुति विवरण हेरेर कारवाही गर्ने जिम्मेबारी हामीसँग छैन्,‘स्थानीयतहलाई बन्द र थप गर्ने अनुमति छ’ थापाले भने । शिक्षा ऐन अनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एकको मात्रै अनुमति पाउने र त्यस पछि प्रत्येक वर्ष विद्यालयको भौतिक पूर्वाधार लगायतका मापदण्डहरु पूरा गरेको पाएमा एक तह थप गर्दै जाने प्रावधान रहेको छ।

विद्यालयहरुले एकै पटक तीन कक्षासम्म सञ्चालन गर्ने गरेको अवस्थामा गुनासो गर्दा समेत स्थानीय जनप्रतिनिधिको ध्यान पुग्न सकेको छैन् । कक्षा थप गर्दा थुप्रै मापदण्ड पूरा गर्नुपर्ने भएपनि विद्यार्थी संख्यालाई मात्रै आधार बनाउने गरिएको छ ।
विद्यालयभित्रको भौतिक संरचना पशुचौपायाा राख्ने जस्तै छन् । नियमित अनुगमनको अभाव र अभिभावकले घरआसपासमै रहेको सामुदायिक विद्यालयभन्दा पनि विश्वास गर्ने प्रबृत्तिले समेत अवैध कक्षा सञ्चालनलाई रोक्न सकिएको छैन् ।

‘भौतिक पूर्वाधारको अवस्था पनि नाजुक छ,‘भविस्यमा अभिभावकलाई धोका हुनसक्छ’ शिक्षाका अधिकारीले भने । अवैध कक्षा सञ्चालन गरी एउटा विद्यालयमा पढाएर अर्को विद्यालयबाट परिक्षामा सामेल भएर सर्टिफिकेट लिने गरेका छन् । यता प्याब्सन जिल्ला अध्यक्ष कृष्णप्रसाद सुबेदीले अनुमति विना कक्षा सञ्चालन गर्नेलाई संरक्षण नगर्ने बताए ।

उनले न्यूनतम मापदण्डसमेत पूरा नगर्नेलाई आवश्यक प्रक्रियामा सघाउने बताए । यसैबीच विद्यालयको सम्रग विवरण सहितको तथ्याङ्क उपलब्ध गराउन पटकपटक ताकेता गरिएपनि बिवरण बुझाउन आनकानी गर्ने गरेका छन् । तथ्याङ्क लुकाउनेमा अवैध कक्षा सञ्चालन गर्ने नै अगाडी छन् । जिल्ला शिक्षा तथा समन्वय इकाईका अनुसार सदरमुकाम बाहिर सञ्चालित विद्यालयहरूले अटेर गरेकोले सचेत गराइएको जनाएको छ ।

बेनपा– १ रत्नेचौरको नेशनल प्रोग्रेसिप, अर्जमको म्याजिक स्टेप, बेनपा –५ मा अवस्थित पुलाचौर एकेडेमी, बेनपा–१० पात्लेखेतको धौलागिरी ईङ्लिस, अन्नपूर्ण गाउँपालिका–६घारको नर्थ अन्नपूर्ण र मंगला गाउँपालिकाको बरंजामा रहेको नर्थस्टारले अहिलेसम्म एकपटक पनि तथ्याङ्क उपलब्ध नगराएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
संस्थागत विद्यालय सञ्चालन सम्बन्धि निती नियमहरुके अभिमुखीकरण कार्यक्रमको सहजीकरण गदैं धौलागिरी माविका पुर्व प्रधानध्यापक केशवप्रसाद रेग्मीले एकिकृत शैक्षिक ब्यवस्थापन सूचक प्रणालीलाई कार्यान्वयन गर्ने विद्यालयको नालीबेली हेर्न मिल्ने बताए।

उनले बालविकासदेखि विद्यार्थीको संख्या, अपाङ्ता, जातिगत, सिकाई उपलब्धी, शिक्षक, अभिभावक, ब्यवस्थापन समितिको विवरण,भौतिक संरचना सहित सम्रग अवस्थालाई तथ्याङबाटै छर्लङ हेर्न मिल्ने भएकाले पनि तथ्याङ्क अपडेट विद्यालयकै लागी आवश्यक रहेको बताए ।बि.श २०७३ देखि हालसम्मको तथ्याङ्क हेर्न मिल्ने भएकाले पनि सम्पूर्ण नीजि तथा सामुदायिक विद्यालयलाई तथ्याङ्कलाई उपलब्ध गराउन मन्त्रालयबाटै निर्देशन आइरहेको बताइएको छ ।