मंगला गाउँपालिका–३, बराङ्जामा पर्ने पर्यटकीयस्थल झाँक्रीपानीमा भ्यूटावर निर्माण गरिएको छ । आँखै अगाडी अग्ला पहराबाट हिमालका दृष्यहरू ठोकिन्छन् । आसपासमा रहेका अग्ला पहाड, ग्रामिण बस्ती सहित आसपासमा रहेको घना जंगलको दृृष्य अवलोकन गर्न गाउँपालिकाको ११ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम मार्फत १० लाख र स्थानीयको करिब ६ लाख बराबरको जनश्रमदानबाट तीनतले भ्यूटावर निर्माण गरिएको हो ।

पक्की पिलर राखेर १४ मिटर अग्लो भ्यू टावरमा रेलिङ समेत भएकाले दृष्याअवलोकन गर्न सहज भएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘भ्यूटावरले पर्यटकको आगमन हुनेछ,‘गाउँपालिकाको एक सुन्दर गन्तब्य बनाउने प्रयासमा छौ’ रोकाले भने । उनका अनुसार पूर्वाधारसँगै गण्डकी प्रदेश सरकारको होमस्टे प्रवद्र्धन कार्यक्रम अन्र्तगत डिभिजन बन कार्यालय मार्फत विनियोजन भएको बजेटबाट ८ लाख ९२ हजार लागतमा पदमार्ग समेत बनाइएको छ ।

होमस्टे सञ्चालनको लागि तालिम लिएका २२ घरधुरीलाई समेटेर पदमार्ग र भ्यू टावर परिसरमा प्रतिक्षालय निर्माण गरिएको छ । त्यस्तै जिल्लाकै एतिहाँसिक मानिने चिनाकोट दरबार जाने बाटेमा समेत १ लाख ५० हजार खर्च गरी पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष कविन्द्र रोकाले बताए। उनका अनुसार चिनाकोत दरबारलाई संरक्षण गरिने छ । गाउँपालिकाको वडा नं ३ र ४ मा अवस्थित बरंजा एतिहाँसिक तथा धार्मिकस्थलको रुपमा रहेको छ ।

बरंजाभित्र रहेको दहताल सहित सम्पूर्ण पर्यटकीयस्थललाई एकसाथ समेट्ने प्रयास गरिएको गाउँपालिका उपाध्यक्ष सिर्जना केसीले बताईन् । भ्यू टावरको शुक्रवार गाउँपालिका अध्यक्ष रोका सहित, उपाध्यक्ष केसी, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्षद्धय कविन्द्र रोका,ओमबहादुर रोका लगाएत प्राविधिक सहितको टोलीले स्थलगत अवलोकन समेत गरेको छ ।

पर्यटकलाई स्वागत गर्न आतुर धाक्रीपानी
चारैतिर बनजंगल, तल म्याग्दी नदीको नागवेली दृश्य, अग्लाअग्ला पहाड,ग्रामिण परिवेश,छरिएर रहेको वस्ती, ढुङ्गाका छानो भएका घर, विभिन्न प्रजातिका जडिबुटी,चैतबैशाखमा राताम्यै फुल्ने लालिगुराँसको अवलोकन, संसारकै सातौँ अग्लो धौलागिरि, अन्नपूर्ण, निलगिरि, मानापाथी, गणेश हिमाल लगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकनका साथै छिमेकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिका सहित पर्वतको समेत केही गाउँ देखिने पर्यटकीय एवं रमणीयस्थल झाँक्रीपानीमा धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित झाँक्रीपानीमा आफ्नो आँखै अगाडि देखिने सेताम्मे हिमालको आकर्षणले समय वितेको पत्तै हुदैन् ।

बेनीबाट सवारीसाधनमा करिव साढे दुईघण्टामा पुगिने तथा मंगला गाउँपालिकाको केन्द्र बावियाचौर, बेनी नगरपालिकाको तातोपानीबाट समेत पैदलयात्रामा करिव साढे तीन घण्टामा पुगिने उक्त स्थानमा फागुनदेखि बैशाख मनिासम्म जंगलमा राताम्मे लालीगुराँस समेत देखिन्छ । त्यस ठाउँमा जुनसकै समयमा पनि बनभोजमा पुग्नेलाई स्थानीयले समेत भब्य स्वागत गर्ने गरेका छन् ।

‘पर्यटक हाम्रो लागी ठूलै सम्पत्ती हो,‘पर्यटकलाई स्वागत गर्न आतुर छौ’ स्थानीय राममायाँ रोकाले भनिन् । सदरमुकाम नजिक रहेको ज्यामरुककोट, भकिम्ली हुदै पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका जोड्ने बैकल्पिक पदमार्गको अवधारणा समेत आएको बताउँदै पदयात्रामा रमाउनेलाई एकदिनको बसाई झाँक्रीपानी बनाउन सकिने भएकाले पनि सरोकारवालाको ध्यान केन्द्रित गर्ने योजनामा स्थानीय छन् । कुनै समय नांगो डाँडा भएपनि अहिले पर्यटकीय गन्तब्यको रोजाईमा परेपछि घुम्न आउनेलाई पूर्वाधार विस्तारगरी थप आकर्षित गर्ने सोचमा छन् ।

कसरी भयो झाँक्रीपानीको नामाकरण ?
प्राचिन समयमा त्यस ठाउँमा झाँक्री बस्ने गरेका र पानीको कुनै स्रोत नहुँदा काकाकुल बनेका झाक्री खलकलार्ई मूल झाँक्रीले तान्त्रिक विधिद्धारा आफ्ना इष्ट देवतालाई खुसी बनाई पानी निकालेको किंवदन्तीका आधारमा नामाकारण गरिएकाले पनि यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा समेत चिन्ने गरिएको भ्यूटावर निर्माण समितिका सचिव कोमल थापाले बताए ।धेरै पहिले झाँक्रीहरुबो बसोबास रहेको भएपनि अहिले झाँक्रीपानीमा मगरहरुको वस्ती रहेको छ । एक घर बाहुन, एक घर विक र ५७ घर मगर समुदायको गरी जम्मा ५९ घरधुरी यहाँ रहेका छन् । तस्वीर सौजन्य जगत बानियाँ

विज्ञापन