विपद् ब्यवस्थापनको लागि पूर्व तयारी योजना आवश्यक भएको सरोकारवालाहरुले बताएका छन् । प्राकृतिक प्रकोप बाजा बजाएर नआउने भन्दै प्राकृतिक तथा मानव सिर्जित विपद्को सामना गर्न योजनाबद्ध तयारीमा जोड दिइएको थियो । बेनी नगरपालिका विपद् ब्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्ययोजना गोष्ठीको उद्घाटन गदैं प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पूर्व तयारीले भौतिक तथा मानवीय क्षतीलाई न्यूनिकरण गर्न सकिने बताए ।

बेनी नगरसहित जिल्लाका पाँचवटै स्थानीय तहले विपद् ब्यवस्थापान समिति गठन गरी कार्ययोजना बनाउनुपर्ने बताए ।
स्थानीयतहमार्फत नै राहत तथा उद्धारलाई प्राथमिकता दिएको जिल्ला विपद् ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रजिअ अधिकारीले बताए । जिल्लाभित्र एक वडा एक हेलिप्याड,जोखिमयुक्त बस्तीको पहिचान,सम्भावित विपद्को अनुमान, सूचना संकलन गर्ने,प्रकोप नक्साङ्कन, प्राकृतिक स्रोतसाधनको दोहन रोक्ने, सूचना प्रणालीलाई प्रभावकारी बनाउने,सुगमदेखि दुर्गमसम्म बसोबास गर्ने जनताको पहुँचमा समयमै सूचना पुग्ने संयन्त्रको विकास गर्ने,जनशक्तीको ब्यवस्थापन,राहतका लागि कोषको ब्यवस्थापन लगाएत विपद्लाई केन्द्रित गरी आवश्यक उपकरणलाई तयारी अवस्थामा राख्नुपर्ने बताए ।

सोही अवसरमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले जिल्लामा विपद्बाट सबैभन्दा जोखिम नगरपालिका नै रहेको बताए।उनले म्याग्दी र कालिगण्डकीको कटानका साथै पात्लेखेत, भकिम्लीको तोराखेत जिल्लाको सबैभन्दा ठूला पहिरो समेत नगरभित्र नै रहेको बताउँदै हरेक वडा बाढीपहिरोबाट प्रभावित रहेको बताए । उनले नगरसहित वडास्तरमा समेत ब्यवस्थापन समिति गठन गरी राजनीतिक दल, सरोकारावाला निकायको समेत संलग्नतामा काम गरिने बताए ।

जिल्लाका अन्य स्थानीय तहसँग सहकार्य गरी विपद्मा सँगै अगाडी बढ्ने नगरपालिकाको योजना रहेको छ । कार्ययोजना गोष्ठीमा उपमेयर सञ्जु बरुवालले विपद्को सामाना सहकार्यबाटै सम्भव भएको बताईन् ।उनले विपद् जोखिम न्यूनीकरणसम्बन्धि योजन तर्जुमासँगै कार्यान्वयन, नियमन, अनुगमन, पुर्नस्थापना, पुर्ननिर्माण, अध्ययन, अनुसन्धान लगाएतमा समुदायको समेत सहभागीता हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताईन् ।

नगरकार्यपालिका सदस्य,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज लगाएत सरोकारवाला निकायका प्रतिनिधिको उपस्थिती रहेको थियो । १ नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दी विपद्को उच्च जोखिममा रहेको छ । तालिमको अध्यक्षता मेयर श्रेष्ठ, स्वागत उपमेयर सञ्जु बरुवाल र सञ्चालन नासु शिव शर्माले गरेका थिए । कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाईटीका कार्यालय प्रमुख धनञ्जय कुमार श्रेष्ठ, मुक्ति ढुंगानाले सहजिकरण गरेका थिए ।

विज्ञापन