लायन्स क्लव अफ बेनी पिस सिटीले बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा बहुमुल्य बोधिचित्त बिरुवा रोपेको छ । भक्तजनको भेटी र चन्दाको भरमा सञ्चालित पहिलो चरणमा २० गोटा विरुवा लगाइएको छ । बोधिचित्तको विरुवालाई नियमित संरक्षण गर्ने मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतले बताए । कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष एमजेएफ राजेश शाक्य, जोन चियरपर्सन लोकेश पुनमगरले आयआर्जनका क्षेत्रमा केन्द्रित गरी क्लवले आफ्ना गतिविधिलाई निरन्तरता दिनुपर्ने बताए ।

माटो परिक्षण गरी गतबर्ष ३० वटा बिरुवा रोपिएकोमा १७ वटा हुर्किएपछि यसबर्ष समेत थप विस्तार गरिएको क्लवका अध्यक्ष नरेश श्रेष्ठले बताए । उनले सामुदायिक क्षेत्रमा गरिएका खेतीबाट प्रत्यक्ष फाइदा लिन सकिने बताउँदै बोधिचित्तलाई आवश्यकता अनुसार अन्य वडाहरूमा समेत विस्तारको योजना बनाएको बताए। सोही अवसरमा बोधिचित्तको खेतीका बारेमा समेत जानकारी गराइएको थियो ।

समुन्द्र सतहबाट ४ सय देखी २५ सय मिटरसम्म लगाउन सकिने भएकाले म्याग्दी जिल्लाको जमिन तथा माटो समेत बोधिचित्तका लागि उपयुक्त मानिन्छ । बोधिचित्तको विरुवा लगाएको २ देखी ३ बर्षभित्र बर्षमा दुईपटक फल दिन्छ । चैत्र– बैशाख, साउन– भदौमा दुईपटक फुल्ने र असार–साउन र असोज–कात्तिकमा पाक्ने गर्दछ ।

विगतमा समेत रत्नेचार निवासी हाल मलेसियामा रहेका दिपक बोगटीले रुद्धाक्षको विरुवा लगाइएकोमा फल दिन सुरु गरेको छ । जिल्लामा बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिकाको तल्लो क्षेत्रमा रातो माटो भएकाले धेरै क्षेत्रमा यसको सम्भावना रहेको छ ।

एउटा विरुवा हुर्किसकेपछि खासै हेरचाहको आवश्यकता नपर्ने भएकाले पनि म्याग्दी जस्तो पहाडी जिल्लामा अझै उपयोगी मानिन्छ । कार्यक्रमको बारेमा अध्यक्ष नरेश श्रेष्ठले स्वागत र सञ्चालन सचिव विरेन्द्र श्रेष्ठले गरेका थिए । क्लवले स्थापनाकालमा बेनपा ६ डम्बरामा बोधिचित्त विस्तार गरेको थियो । त्यस्तै आर्थिक अभावका कारण शिक्षाबाट बन्चित भएका सोमप्रसाद सापकोटालाई स्नातकतह सम्मको शिक्षा सहित विभिन्न सामाजिक कार्यमा सहयोग गरेको थियो ।