करिब ६ सय वर्ष पुरानो इतिहाँस र सम्पदाको साक्षी बनेर रहेको म्याग्दीकै ऐतिहाँसिक स्थल खड्गभवानी कोतसम्म व्यवस्थित पदमार्ग निर्माण गरिएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको भकुण्डेदेखि खड्गभवानीकोतजोड्ने पक्की सिंढीसहितको २ सय ५० मिटर पदमार्ग निर्माण गरिएको हो ।

गण्डकी प्रदेशको उद्योग वन वातावरण तथा पर्यटन मन्त्राल र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा स्थानीयवासीको सक्रियतामा उकालो बाटोमा ३ सय ५३ वटा सिंडी सहितको पदमार्ग निर्माण भएपछि ऐतिहाँसिक,धार्मिक तथा पर्यटकीय स्थल खड्गभवानी कोत पुग्न सहज भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा मन्त्रालय अन्तगरगतको भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतमार्फत प्राप्त १४ लाख९९ हजार ४ सय ८६ रुपैयाँ र उपभोक्ताको तीन लाख २१ हजार रुपैयाँ बराबरको श्रमदानमा उक्त पदमार्ग निर्माण भएको स्थानीय अगुवा भीम पौडेलले बताउनुभयो ।

पदमार्ग निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष ओमवहादुर विकले दुईमिटर फराकिलो पदमार्गको १ सय ९० मिटर दुरीमा फलामको रेलिङ राखिएको बताउनुभयो । पदमार्ग निर्माण भएपछि उकालो बाटोमा सहज र सुरक्षित रुपमा हिडडुल गर्न सकिनुका साथै पर्यटकहरुको समेत आवागमन बढ्ने स्थानीय हरि घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।

खड्गभवानी कोत परिसरबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण,माछापुच्छ«े,गुर्जा,चुरेन लगाएतका १५ वटा भन्दा बढि हिमाल,धौलागिरि र गण्डकी क्षेत्रका ३३ भन्दा बढि गाउँहरु,सुर्योदय,ग्रामिण जनजिवन,धार्मिकस्थल गलेश्वर,पञ्चकोट,म्याग्दीको सदरमुकाम बेनी,पर्वतको कुश्मा म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य लगाएत रमणीय प्राकृतिक सम्पदाहरुको दृश्यावलोकन गर्न सकिन्छ ।खड्गभवानी कोत स्थललाई राजधानी बनाई विसं १२४६ देखि १५४५ सम्म थापाहरु र त्यसपछि मल्ल राजाहरुले ज्यामरुककोटमा राज्य गरेका थिए । यस कोतमा ५ सय ७४ वर्ष पुराना अभिलेख,हतियार र पुरातात्विक महत्वका सामाग्रीहरु रहेका छन् ।

विज्ञापन