बेनीकी प्रतिक्षा आचार्य माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा ११ मा ट्राभल एन्ड टूरिजम विषय अध्ययरत छिन् । आफ्ना सहकर्मीहरू थप उच्च शिक्षाका लागि पोखरा, काठमाण्डौ तिर लागेपनि आचार्यले पर्यटनसम्बन्धी पढाईलाई रोजिन् । बेनीको चर्चित होटल याकका सञ्चालक ताराप्रसाद आचार्य ‘बाबुराम’की छोरी आचार्यको पर्यटनको क्षेत्रमै सक्रिय हुने लक्ष्य छ । आचार्यजस्तै छिमेकी जिल्ला बागलुङबाट पर्यटन विषयका लागि आएका प्रविण गौचन रमुस्ताङ छेरिङ घलेले पनि अन्य विषयको तुलनामा ट्राभल एन्ड टूरिजममा रोजगारको सम्भावना बढी रहेकाले बेनीमा पढ्न आएका छन् ।

विद्यालयमा कक्षा ११ मा अहिलेसम्म २६ जना सम्पर्कमा आएका छन् ।पर्यटकीय जिल्ला म्याग्दीमा पर्यटन ब्यवसाय र रोजगारको प्रचुर सम्भावना भएपछि पर्यटनसम्बन्धी पढाईमा विद्यार्थीको आर्कषण बढेको छ ।पर्यटन सम्बन्धि सम्पूर्ण ज्ञानसँगै स्वदेशमै रोजगारीको ग्यारेन्टी भएकाले टुरिजम एन्ड ट्राभल पढ्न मुस्ताङबाट आएकोे छेरिङ घलेले बताए । ‘मुस्ताङ पर्यटनको खानी हो,‘पर्यटकको जिज्ञासालाई मेट्न पनि यो विषयमा अध्ययन गर्नुपर्छ,‘स्वदेशमै रोजगारको ग्यारेन्टी हुने पेशा भएकाले पनि मैले पढ्न थालेको छु’ घलेले भने ।

उनले नियमित विद्यालय आउन नसक्ने भएपनि परिक्षा तथा अतिरिक्त समय लिएर भएपनि पढ्ने गरेको बताए ।उनी मुस्ताङको होटलमा कार्यरत छन् । म्याग्दीमा ट्राभल एन्ड टूरिजम विषय पढाउने एकमात्रै विद्यालय भएकाले पनि पर्यटनको क्षेत्रमा लगानी तथा जागिरको खोजीमा रहेकाले यो विषय रोज्ने गरेको विद्यालयका संचालक एवम् विषयगत शिक्षक सुरत केसीले बताए ।

‘पर्यटनको क्षेत्रमा आवश्यक पर्ने आधारभुत विषय छ,‘स्नातकतहमा प्रवेश गर्दा वित्तिकै बेरोजगार बस्नुपदैन्’ केसीले भने । उनले स्वदेशीसँगै विदेशी कम्पनीमार्फत टेकिङ् अफिसर, ट्राभल एजेन्ट, टुर अपरेटर, पर्वतारोहण पथप्रदर्शक, पदयात्रा पथप्रदर्शक तथा विमान कम्पनीमा प्रशासनिक कामका लागि सहज हुने बताए । उनले जल, जमिन, जंगल र हवाई पर्यटनका बारेमा जानकारी भएकाले पनि विद्यार्थीको चाहना भए जिल्लाभित्रै रोजगारीको ग्यारेन्टी भएको बताए।

सैद्धान्तिक भन्दा पनि व्यवहारिक कक्षा धेरै हुने गरेका कारणले पनि यो विषयमा विद्यार्थीको आर्कषण देखिएको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए । उनका अनुसर ‘टेनिङ वेस’ आधारित कक्षाले विद्यार्थीले सहजै रोजगारीसँगै आफ्नै लगानीमा पर्यटन ब्यवसायी बन्न समेत भविस्यमा सहज हुने बताए । उनले विद्यालयले पर्यटनसँगै म्याग्दी जिल्लामा पत्रकारिताको क्षेत्रमा समेत सक्रिय हुने गरी पत्रकारिता विषयलाई समेत प्राथमिकता दिएको छ । यसबर्ष पत्रकारिताको विषय समेत सञ्चालन गरिने शैक्षिक निर्देशक केसीले जनाए ।