म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको पुछारमा छ वेसी गाउँ । मगरदाङ पनि भनिने यस गाउँको फेदीमा कलकल गर्दै बगेको छ दाङखोला । मगरदाङबाट आधा घण्टा पैदल ओरालो झरेर दाङखोला तरेर करिब एकघण्टाको उकालो बाटो हिडेपछि पुगिन्छ अनौठा प्राकृतिक कलाकृतिहरु एकिकृत गरेर कुशल कारिगरले निर्माण गरेजस्तो अनौठो संग्रहालय, देउताभिर गुफा ।

‘देउताभीर गुफा’ नाम नै अनौठो छ । मन्दिरमा बस्छन् देवता र सवैका लागि पाएक पर्ने स्थानामा बनाइन्छ मन्दिर ।तर देउताभीर गुफा भने कसैलाई पनि पाएक नपर्ने अजङको भीरको सवैभन्दा अप्ठ्यारो भागमा रहेको छ ।
मन जिरिङ्ग हुने अनकन्टार ठाउँमा रहेको यस गुफाभित्र रहेका अनौठा प्राकृतिक कलाकृतिहरुले यहाँ पुग्ने मानिसहरुलाई गज्जबसंग आकर्षित गर्दछन् । गुफाको वाहिरपट्टि रहेका द्धारपाल (ढोके) का दुईवटा प्राकृतिक ढुङ्गे मुर्तिलाई पूजा गरी ढोके(द्धारपाल)लाई प्रशन्न गराएपछि गुफाभित्र प्रवेश गर्ने अनुमति पाइने यस पंङ्तिकारसंगै देउताभीर गुफा गएका स्थानीय अगुवा बुद्धिबहादुर फगामीले बताए ।

द्धारपालको पूजा गरेर अनुमति लिई पाँच पाइला अघि बढ्यो भने देउताको वासस्थान जस्तै लाग्ने अनौठो चट्टान भएको ठाउँमा पुगिन्छ । त्यहाँ भगवान गणेशको प्राकृतिक ढुङ्गे मुर्ति रहेको छ । मूर्तिको वरिपरि काला र पुराना चट्टानहरु छन् । तर, गणेशको मुर्ति,हात्तिको सुँड र शेषनागको मुर्ति असाध्यै सेतो र हिरा जस्तै चम्किलो चट्टानमा कुँदिएर प्रत्येक १४ सेकेण्डमा पहेलों वर्णमा परिवर्तन हुने गरेको छ ।

त्यसका साथै यहाँ पूजा गर्ने समयमा बत्ति वाल्नका लागि प्रयोग गरिने पाला(दियो) पनि प्राकृतिक रुपमा नै बनेका छन् ।यस पङ्तिकारले त्यहाँ ३१ वटा पाला (दियो) का आकृति फेला पारेको थियो । गणेशको मूर्ति अंकित चटनको दाहिनेतर्फ दुवोको आकृति र माथिल्लो पट्टिको चट्टानमा केराको बोटका आकृति रहेका छन् । मुर्तिको अगाडि पट्टिको चट्टानमा गाइका थुनको आकृति रहेको छ । यी सवै प्राकृतिक कलाकृति हुन् । गुफा प्रवेश गरेको दुई मिनेट भित्रमा यी सबै कुराहरुको अवलोकन एकै ठाउँमा गर्न सकिन्छ ।

त्यहाँबाट देब्रेतर्फ सात पाइला अघि बढ्ने हो भने अर्को सानो प्रवेशद्धार जस्तो आकृति रहेको छ । त्यहाँबाट छिरेर तीनपाइला तल झरेपछि पानी बगेको ठाउँमा पुगिन्छ । दाहिनेपट्टिको छेउमा ओरालो परेको ढुङ्गा छ । ढुङ्गाबाट अघि बढ्न निकै ठूलो साहस र आँटको आवश्यकता पर्छ । स्थानीय इन्द्रमति फगामीका अनुसार चोखो मन भएको,पाप नगरेको र अघिल्लो दिन चोखिनिष्ट रहेको व्यक्तिमात्र यस ठाउँबाट अघि जान सक्छ । पाप गरेको र चोखिनिष्ठ नरहेको व्यक्तिलाई यहाँ चमेरा र सर्पले बाटो छेक्ने गर्छन् र उनीहरु यस ठाउँबाट अघि बढ्न सक्दैनन् ।

यहाँ रहेका थरीथरीका नागका आकृतिमध्ये एउटा आकृति प्रवेशद्धारको नजिकै रहेको नागको आकृतिसंगै ठ्याक्कै मेल खान्छ । र,पाप गरेको मान्छेलाई दोस्रो प्रवेशद्धारबाट अघि बढ्न नदिने वास्तविक नाग पहिलो प्रवेशद्धारमा रहेको नागको आकृतिको नाग नै भएको स्थानीयको विश्वास रहेको छ ।

यस्तो रहस्यमय गुफाको वास्तविकता केहो ?

यो गुफा यस क्षेत्रका वासिन्दाहरुको लागि रहस्यमय बनेको छ । परम्परागत विश्वासलाई नै आत्मसाथ गर्दै यहाँका वासिन्दाहरुले प्रत्येक वर्ष बुद्ध पूर्णिमाका दिन यहाँ साँड,भेडा, बोका र परेवाले बलिदिई पूजा गर्ने गरेका छन् । गुफाभित्र स्पष्टरुपमा गणेश,हात्ति,केरा,नाग र दियोका मुर्तिहरु,कलाकृतिहरु रहेका छन् । यी सवै देवता वा चिजहरुले बलि लिदैनन् । तरपनि स्थानीयले हरेक वर्ष बलि दिँदै आएका छन् ।

यस गुफा हजारौं वर्ष पहिला प्राकृतिक रुपमा नै बनेको गुफा हुनसक्ने स्थानीयको भनाइ छ । केही वर्ष अघि रोल्पाबाट झाँक्रीको रुपमा आएकी एउटी अधवैंशे स्वास्नीमान्छे प्रचलित बाटोबाट गुफामा जान नमानेकी र कसैले प्रयोग नगरेको भीरबाट उकालो चढ्न लाग्दा जति जति उनले पाइला सार्छिन त्यति नै सिंडि बनेका तर ती सिंडि (भर्याङ) उनले पाइला अघि बढाएसंगैं अलप भएका स्थानीय बुद्धिबहादुर फगामीले बताए ।

फगामीका अनुसार यस गुफाको केवल धार्मिक रुपले मात्र होइन पुरातात्विक र वैज्ञानिकरुपले पनि खोज अनुसन्धान हुन आवश्यक छ । यहाँका चट्टानहरुको अनुसन्धान गर्ने हो भने बहुमूल्य चिजहरु पनि यहाँ हुन सक्ने उनले बताए । चट्टानै चट्टानको पहरो रहेको गुफा भित्र खोला कसरी बग्यो? त्यहाँ पानी कहाँबाट आयो ? गणेश र नागको आकृति रहेको चट्टान मात्रै हिरा जस्तै चहकिलो किन भयो ? चटनमा केरा र दुवोका आकृति देखिनुको रहस्य के हो ? यस्ता गम्भीर विषयहरुमा अनुसन्धान हुन जरुरी रहेको उनको भनाइ रहेको छ ।

नुन नहालिकन पकाएको मासु खाँदा चर्को हुन्छ

देउताभीर गुफामा बुद्ध पूर्णिमाको दिन बलि दिएका साँड,भेडा,बोका र परेवाको मासु पकाउँदा नुन हालिदैन । फगामीका अनुसार प्रसादमा नुन हाल्नु हुँदैन भन्ने परम्परागत चलन अनुसार यहाँका वासिन्दाले नुन नहालिकन मासु पकाउँछन् । तर पकाउँदा नुन नहालेको मासु खाँदा भने नुनिलो मात्र होइन चर्को (बढि नुन भएको) हुन्छ ।

पकाउँदा नुन हालिदैन तर खाँदा चर्को कसरी हुन्छ ? यो अनुसन्धानको विषय बनेको छ । स्थानीयका अनुसार बलि दिएका पशुहरुको मासु गुफा भित्र रहेको खोलाबाट आउने पानीले धोइ पखाली गरी बनाइन्छ । यसको अर्थ गुफा भित्रको खोलामा नुनिलो पानी रहेको छ । समुन्द्रको पानी नुनिलो हुने हो । पहाडको गुफा भित्र बगेको खोलामा नुनीलो पानी कसरी भयो ? यो पनि अनुसन्धानको विषय बनेको छ ।

अनौठो गुफाको विकासका लागि के गर्दै छ स्थानीय सरकार ?
प्राकृतिक रुपमा रहेका यस्ता अनौठा र पर्यटकीय सम्भावना बोकेका स्थानहरुको बारेमा स्थानीय सरकार पनि सचेत छ । मालिका गाउँपालिकाले यस गुफाको प्रचार प्रसार र पूर्वाधार विकासका लागि विशेष पहल गरेको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।‘कतिपय ठाउँहरुमा यस्ता प्राकृतिक सम्पदाहरु भिल्लाको देशमा मणिको नियति भोग्न बाध्य भएका छन्’ अध्यक्ष रोकाले भने ‘तर,हामीले यस्ता सम्पदाहरुको अधिकतम उपयोग हुनु पर्छ भन्ने नीति लिएका छौं।’

‘यसको विकास र पूर्वाधार निर्माणका लागि पहिलो चरणमा देउताभीर गुफासम्म पुग्ने पदमार्ग निर्माणको सुरुवात गरेका छा’ैं उनले भने । गुफालाई धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्न मालिका गाउँपालिका र गण्डकी प्रदेश सरकारले छुट्याएको बजेटबाट करिब ५ सय मिटर पदमार्ग निर्माण गरिएको छ । पदमार्गको निर्माण भएपछि अक्करे भीरको यात्रा गरेर गुफासम्म जानुपर्ने वाध्यताको अन्त्य भएको र आगामी वर्ष बाँकी रहेको ठाउँमा पनि सिंडि सहितको पदमार्ग बनाइने मालिका ५ देविस्थानका वडाअध्यक्ष पिपल बूढाले बताइन् ।

देउता भीर गुफाको अनुसन्धान गर :स्थानीय
देउताभीर गुफाको भौतिक पूर्वाधार निर्माणमा स्थानीय सरकारको ध्यानाकर्षण भएपनि यसको वैज्ञानिक महत्वको वारेमा अनुसन्धान हुन जरुरी देखिएको छ । धार्मिक मान्यताका आधारमा पूजा गर्नु,बलि दिनु र त्यहाँसम्म जान भक्तजनको सुविधाका लागि पूर्वाधार निर्माण गरिनु राम्रो पक्ष भएपनि यस गुफाको बैज्ञानिक महत्व र यहाँ रहेका प्राकृतिक कला कृतिहरुको खोज अनुसन्धान हुनु पर्ने मालिकाका स्थानीय अमलाल फगामीले बताए ।