गूर्जाको लाच्थावाङ र घुर्म खोलामा गत बुधबार एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका–१ गूर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासी आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो । बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने ट¥यो । म्याग्दीका खोलामा एकाएक आएको बाढी र त्यसले पारेको क्षतिका नौलो होईन् ।

हरेक पाँचबर्षमा म्याग्दीमा बर्खायामको समयमा गूर्जा र मुदी आसपासका क्षेत्रमा साना–ठूला बाढीपहिरोले छिमेकी जिल्लाको तटिय क्षेत्रसम्म असर गर्ने गरेको छ । पछिल्लो समय वर्षा नहुँदा पनि माथिल्लो भेगबाट भीषण बाढीपहिरो आउने गरेको छ । त्यसले तल्लो तटमा क्षति पु¥याउने गरेको छ । म्याग्दीको गूर्जा गाउँका दुईवटा झोलुंगे पुललाई समेत जोखिममा पार्दै खोलाले पश्चिम म्याग्दीदेखि बागलुङ, पर्वत हुदै कालिगण्डकी नदी बग्ने जिल्लामा समेत क्षतिको सम्भावना बढाएपछि स्थानीय प्रशासनले खोला आसपासका बासिन्दालाई सुरक्षित रहन सर्तकता अपनाउनु भन्दै सूचना नै जारी गरेको थियो ।

जिल्लाको विकट गाउँका खोँचमा बग्ने खोलामा एकाएक बाढी आएपछि मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार, बेनी नगरपालिका–४ सिंगा तातोपानी बजार संरक्षणका लागि बनाइएको तटबन्ध नै कटान गरेको छ । करिब डेढ दशकपछि दुबै खोलामा भिषण बाढी आएको गूर्जाबासीको भनाई छ ।

तल्लो क्षेत्रमा समान्य वर्षा भइरहेको अवस्थामा खोलामा एकाएका बाढी आउँदा सर्वत्र त्रास फैलिने गरेको छ। हिमाली क्षेत्रमा लगातारको भिषण बर्षासँगै जमेको हिउँलाई बगाएर ल्याउँदा बाढी आएको हुनसक्ने गाउँपालिकाका प्रबक्ता एवम् वडा अध्यक्ष झकबहादुर छन्त्यालको अनुमान छ । सिरान क्षेत्रमा भीषण वर्षा भएको र त्यसले बाढी निम्त्याएको अनुमान गरिएपनि बाढी आउनुको वास्तविक कारण कसैले खुट्याउन नसकेको उनले बताए ।

‘हामीले थाहा पाएदेखि अहिलेसम्मकै भीषण बाढी यो पटक आयो,’ उनले भने, ‘१५ वर्ष अघि यस्तै एकाएक बाढी त आएको थियो । तर, अहिलेको जति भीषण थिएन ।’ खासै बर्षा नहुने माथिल्लो क्षेत्रमा पछिल्लो समय लगातार वर्षा हुन थालेपछि तल्लो भेगका बासिन्दा खतरा महसुस गरेको उनको भनाई छ ।हिमालको आसपासको क्षेत्रमै भिषण बर्षा हुन थालेपछि बर्खाको समयमा खोलाको सतह ह्वात्तै बढेको गूर्जाका स्थानीय खिमबहादुर छन्त्यालले बताए ।

‘दुबै खोलामा एकैपटक बाढी आउँछ,‘ तीनपटकसम्म यस्तै भएको छ’ छन्त्यालले भने । हरेक १५ वर्षमा दुवै खोलामा तीनपटकसम्म भीषण बाढी देखेको बताउँदै यसपटकको सबैभन्दा ठुलो भएको उनले बताए । गूर्जाबासीलाई लाच्थावाङ खोला पुग्न करिव एकघण्टा र घुर्मखोला पुग्न दुई घण्टा लाग्छ ।

बस्ती टाढाको उक्त ठाउँमा गोठ र खेतीपाती गर्ने क्षेत्र भएकाले केही स्थानीयले उर्लिएर आएको भेल देखेपछि गाउँमा खवर गरेका थिए । त्यस्तै मुदीसँग सिमाना जोडिएको गूर्जाकै फोल्डिङ खोलाको पहिरो पनि केहीबेर थुनिएको थियो । तीनवटै खोला उर्लिएर आएपछि म्याग्दी खोलामा करिब पाँचघण्टा रुखदाउरा बगाएर ल्याएको थियो ।

‘तल्लो क्षेत्रमा वर्षा नहुदाँ पनि एक्कासी खोला उर्लिएर आउँछ, हिमाली क्षेत्रबाट समयमै सूचना नआउँदा तल्लो भेग जोखिममा छन,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘पानी परेको छैन भनेर तल्लो तटमा ढुक्कले बस्ने अवस्था नै छैन । तल पानी नपरेपनि सिरानक्षेत्रबाट बाढी आउन थालेको छ, त्यसले जोखिम निम्त्याएको छ ।’ सिरान क्षेत्र धेरै उचाईमा रहेको र वस्ती भन्दा निकै नै टाढा भएकोले पनि बाढी आउँदा थाहा नपाउने अवस्था रहेको उनले बताए । उनका अनुसार साँधुरो खोच भएर बगेकाले पहिरोले खोला थुनिने समस्या पनि उत्तिकै छ ।

गत बुधबार यस्तै बाढी आएको माथिल्लो भेगका केही बासिन्दाले थाहा पाएर तल्लो भेगमा पूर्वसूचना दिँदा क्षति नभएपनि भविश्यमा यस्ता समस्या समाधानका लागि माथिल्लो भेगको बस्तीमा सूचना प्रणाली राख्नुपर्ने प्रजिअ अधिकारीको भनाई छ । ‘अनुमान गरे भन्दा फरक तरिकाले खोलामा बाढी आउन थालेको छ । यो अध्ययनको विषय हो,’ उनले भने, ‘माथिबाट एकाएक भीषण बाढी आउँछ, अनि तल्लो भेगमा क्षति पु¥याउँछ्।’

भूगर्भका जानकारहरु भने भूकम्पले समेत चर्किएका पहाड अब पहिरोसँगै बग्ने जोखिममा रहेको र त्यसले खोला थुनिने सम्भावना रहेको बताउँछन्। भूगर्भवीद् श्रीकमल द्विवेदी तल्लो तटिय क्षेत्रका बासिन्दा पछिल्लो समय सिरान क्षेत्रबाट आउने बाढीका कारण जोखिममा रहेको बताउँछन् । उनका अनुसार हिमाली क्षेत्रमा जलवायू परिवर्तनको असरले जमेर बसेको हिँउ बर्षासँगै पग्लिएर बाढी आउने गरेको छ ।

त्यसले तल्लो क्षेत्रमा जोखिम निम्त्याउने गरेको उनले बताए । ‘पछिल्लो समय हिमाली क्षेत्रमा पनि अधिक वर्षा हुन थालेको छ, वर्षाले हिउँलाई बगाएर ल्याउँदा बाढी आउँछ’ उनले भने । उनले म्याग्दी जस्तै लमजुडको दोर्दीमा पनि एक्कासी बाढी आएकाले हिमाली क्षेत्रबाट कुनैपनि बेला विपत आउनसक्ने भएकाले पनि दुर्गम क्षेत्रमा बस्नेहरुसँग नियमित सम्र्पक हुने संयन्त्र बनाउनुपर्ने उनको सुझाव छ । हिमाली क्षेत्रमा सतर्कता जगाउन जरुरी रहेको उनले बताए । तल्लो भेगमा पानी परेको छैन भनेर चुप लागेर बस्ने अवस्था नरहेको द्विवेदीले बताए ।

म्याग्दीको हिमाली क्षेत्रको स्थलगत अवलोकन सहित त्यहाँ रहेको अवस्थाका बारेमा ब्यापक अनुसन्धान गर्नुपर्ने द्विवेदीको भनाई छ। हिमाल आसपासमा रहेको हिँउ एक्कासी बर्षापछि बाढीको स्वरुपमा देखिने भएकाले पश्चिम म्याग्दी, राहुघाट तथा उत्तरी क्षेत्रमा रहेका हिमाल आसपासका बस्तीहरूसँग नजिकको सम्पर्क स्थापित गदैं त्यहाँको अवस्थालाई राज्यकै संयन्त्रको प्रयोग गरी स्थलगत भ्रमण मार्फत हेर्नुपर्ने बताए ।

जिल्ला सदरमुकाम सहित मानव बस्ती भएको क्षेत्र भएकाले पनि भविस्यमा ठूलो विपत्त आउन सक्नेतर्फ बेलैमा सर्तकता अपनाउनु राम्रो हुने उनको तर्क छ । माथिल्लो भेगमा हिमचुली रहेको र हिमपहिरोको कारणले तल्लो क्षेत्रमा बाढी निम्त्याउनेगरि क्षति पु¥याएको हुनसक्ने उनले बताए।

जोखिमपूर्ण ठाउँमा संयन्त्र
माथिल्लो भेगका जनतासँग सम्पर्क अभावले पछिल्लो समय बाढीपहिरोले धेरै मानवीय क्षती पु¥याउने गरेको छ। ‘कम्तिमा टेलिफोन सम्पर्क हुने गरी जिल्ला सदरमुकामदेखि दुर्गमक्षेत्रसम्म संयन्त्र बनाउनुपर्छ,’ उनले भने । पछिल्लो एकदशक यताकै तथ्याङ्कलाई हेर्दा समेत तिब्र सूचनाले मानवीय क्षतीलाई रोक्न सकिने उनले बताए ।

बाढी भविष्यवाणीको प्रभावकारी प्रणाली, बाढीजन्य प्रकोपबाट निम्तने जोखिम क्षेत्रको नक्सांकन तथा व्यवस्थापन, नदी वहावको नियमित अनुगमन, नदी किनारका बस्तीको समुचित व्यवस्थापन, सुरक्षित आश्रयस्थलको अग्रिम व्यवस्थापन, बाढी व्यवस्थापन सम्बन्धी पूर्वाभ्यास तथा जनचेतना अभिवृद्धि लगायत आवश्यकता रहेको द्विवेदीले बताए । म्याग्दीको हिमाली क्षेत्रमा बसोबास गर्ने जनतासँग सहजै सञ्चार सम्पर्क अभावले समेत समस्या हुने गरेको अवस्थामा टेलिफोनको सेवा विस्तार सहित सूचनालाई प्रभावकारी बनाउन सके मानवीय क्षती न्यूनिकरण गर्न सकिने विज्ञको भनाई छ । बेनी साप्ताहिकबाट

File photo