शिक्षक समाजको पथ प्रदर्शक मानिन्छ ।समाजका थुप्रै बालबालिकालाई उचित शिक्षा दीक्षा दिई अनुशासित, लगनशील र इमान्दार नागरिक बन्न प्रेरित गर्छन्। अशिक्षा, सामाजिक अज्ञानता लगाएतका पूराना गलत प्रथाको उन्मुलनका बारेमा बालबालिकालाई सचेत बनाउने भूमिका शिक्षकले नै निर्वाह गर्ने गरेका छन् । गाउँघरमा धेरै सामाजिक अभियानमा शिक्षकहरूको सक्रियता निकै देखिन्छ ।तर, यस्तै भूमिकामा रहेका एक शिक्षकले विवाह गर्ने उमेर नपुगेकी एक विद्यार्थीसँग विवाह गरेका छन् ।

बेनी नगरपालिका–५ मा अवस्थीत पुलाचौर एकेडेमीका शिक्षक सनम विकले १६ बर्षकी एक विद्यार्थीसँग बालविवाह गरेका छन् । पात्लेखेत घरभई हाल पुलौचारमा शिक्षण पेशामा आवद्ध विकले नजिकै रहेको जनकल्याण माविमा कक्षा ९ मा अध्ययरत रामदाम नाम गरेकी बालिकालाई परिवारकै सहमतिमा विवाह गरेका हुन् ।

बालिकालको इच्छाभन्दा परिवारको सहमतिमै विवाह भएपछि सार्वजनिक भएपनि शिक्षक विकले सहमतिमै विवाह भएको दावी गर्ने गरेको अधिकारकर्मी बताउँछन्। पूलाचौरमा दलित बस्ती भएकाले पनि बालविवाहले नकारात्मक सन्देश प्रवाह गरेको दलित समुदायकै अगुवाको भनाई छ । नेपालको कानुन अनुसार २० बर्ष मुनिको विवाहलाई मान्यता नदिएपनि शिक्षक विकलाई बालबालिकाको क्षेत्रमा सक्रिय गैरसरकारी संस्था सिवीन म्याग्दीमा आवद्ध बाल सञ्जालले दवाव दिएपनि अटेर गरिरहेका छन् ।

शिक्षकले नै बालविवाह गरेपछि समस्या उत्पन्न भएको छ,‘यस्ता गतिविधिले बालविवाह निर्मुल पार्न मुस्किल हुन्छ’ संयोजक बसन्त ढु¨ानाले भने ।उनका अनुसार सिविन म्याग्दीमा आवद्ध रहेका बालबालिकाले बेनी नगरपालिका भित्र नै सञ्चालन गरेको अभियानकै क्रममा केही विवाहको तयारी रोकिएको बताए ।२० वर्ष भन्दा अघि बिवाह गरेकालाई सम्झाई बुझाई गरेर अलग्याउन नसकिएमुद्दा समेत दर्ता गर्न सकिन्छ ।समाजमा शिक्षित मानिएकाले बालविवाह गरेपछि थप नकरात्मक सन्देश प्रवाह भएकाले बालविवाहका बारेमा जानकारी पाएलगत्तै रोक्नुपर्ने बताए ।

२० वर्ष अघि बिवाह गर्नेलाई तीन वर्षसम्म कैद र१५ हजारसम्म जरिवाना हुने भएपनि छोरीलाई धेरै पढाए बढी दाइजो दिनुपर्ने,उमेर पुगेपछि विवाह गरिदिने सोच बनाए प्रेम गरेर भाग्न सक्ने, घरको काम गर्न चाँडै बुहारीको आवश्यकता, केटापक्षको आमाबुबा विरामी भएमा कलिलै उमेरमा बालविवाह गर्ने परम्परा बेनी नगरपालिका भित्र नै देखिएको बालबालिकाको क्षेत्रमा सक्रिय संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताए ।

उनका अनुसार बेनपा–६ का गणेश क्षेत्रीले समेत बालविवाह गरेको गुनासो आएको बताउँदै अशिक्षा, बेरोजगार तथा गरिबीका कारण दलित समुदायमा बालविवाह मौलाउँदै गएकाले सामाजिक जागरणलाई प्रभावकारी बनाउनुपर्ने बताए ।नगरपालिकाभित्र नै लुकाएर बालविवाहको संख्या धेरै भएको अनुमान गरिएको छ ।बालविवाह रोक्न जिल्लामा धवलागिरी गाउँपालिका बाहेक अन्य स्थानीय तहले खासै योजना छैन् ।

धवलागिरीमा प्रभावकारी अभियान
गत आवमा एकै वडामा ७ जोडी बालबालिकाले विवाह गरेपछि गाउँपालिकाले बालविवाहमुक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको छ । सान्दर्भिक बिवाहसंग उपाध्यक्ष कार्यक्रम मार्फत विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गरी बालविवाह अन्त्यको अभियान सुरु गरिएको उपाध्यक्ष रेशम छन्त्यालले बताए । ‘पहिलो चरणमा सचेत बनाइएको छ, अब अटेरी गरेमा कानुनी व्यवस्थाको कडाई हुन्छ’ छन्त्यालले भने । उनका अनुसार आधारभुत तथा मावि तहका विद्यालयमा सञ्जाल गठन, सञ्जालको विवाह हुने स्थानमा गस्ती, ‘विवाह जग्गेबाटै जोगाउ बालिका’,‘बालिका दुलही होइनन्’ जस्ता नारा सहित कार्यक्रम सञ्चालन गर्ने बताए । १४ देखि १९ बर्ष उमेरमा विवाह गर्नेहरूको सूची तयार पारिएको बताए ।

बालविवाह, बाल अधिकारीको हनन् मात्र नभई बैवाहिक जीवन दिगो नहुने, परिपक्क नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धि विभिन्न समस्याहरू देखिएको उनले बताए । सानै उमेरमा प्रजनन अङ्गहरूको पूर्ण विकास नभइसकेको अवस्थामा मातृमृत्यु, शिशु मृत्युदर बढ्ने, पाठेघरको क्यान्सर लगाएत यौनजन्य रोग लाग्ने भएकाले पनि समस्या हुने गरेकाले । किशोरकिशोरीमा यौन तथा प्रजनन् स्वास्थ्यको न्यून ज्ञानको अभावलाई मेट्न विद्यालयस्तरबाटै जनचेतनामुलक कार्यहरू सञ्चालन गर्ने अभियानमा सहयोग गर्न गाउँपालिकाले अपिल गरेको छ ।