बेनीमा एकमहिने बर्खेनाच सुरू

0
278

म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको ‘बर्खेनाच’ देखाउन शुरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म विभिन्न नाच देखाएर मनाउने गरिन्छ । मंगलबार घण्टाकर्ण पर्वको असवरमा बेनीस्थित संगम चोकमा समाजमा दुःख दिनेपात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा पश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर विसर्जन गरिएको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले बताए ।

उनका अनुसार यसबर्ष नियमित नाचहरु प्रस्तुत गरिने छ । बर्खेनाच अन्तर्गत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रासहित विविध नाच देखाइने छ । लोपउन्मुख मानिएका हनुमान,रोपाई लगाएतका पुराना नाच जनशक्तीको अभावका कारण देखाउन समस्या भएको नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।
बजार क्षेत्रमा बर्खनाचले एकता र सहकार्यको सन्देशलाई समेत प्रवाह गर्ने भएकाले पनि बर्खनाचलाई नेवारी समुदायको मात्रै नभई सबै जातजातिको सहभागीतामै सम्पन्न गर्ने गरिएको छ ।

बर्खेनाच अन्तर्गत जनैपूणिमाको दिन र भोलिपल्ट वर्षभरीमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलनसमेत रहेको छ । बेनीबजार तथा आसपासका क्षेत्रमा मृत्यु भएकाहरुको सम्झनामा घरअगाडी नाचमा सहभागीले मृत आत्माको शान्तिको कामना समेत गर्ने गर्दछन् । ऐतिहासिक महत्व बोकेको बर्खेनाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।

केही समय अगाडि बर्खेनाचको लागि युवा कलाकारलाई तालीम समेत दिने गरिएको छ । हिन्दू नेपाली महिलाको महानपर्व तिजको दिन साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले वध गरेर बर्खे नाचको औपचारिक समापन गर्ने गरिएका छ।

राक्षसको रुपमा रहेको लाखेलाई भगवान् श्रीकृष्णले वध गरेपछि गरेको प्रचलन छ। बर्खेनाचमा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्र प्रदर्शनलाई बर्खेनाचमा देखाउने गरिएको छ । बर्खेनाचमा नेवार समुदायका साथै बेनीबजारमा बसावास गर्ने क्षेत्री, बाह्मण र जनजाति युवाहरुले पनि साथ दिने गरेका छन्। तीनसय बर्ष पहिले मानवबस्तीको विस्तार भएदेखी नै बर्खे नाँच सुरू गरिएको देखिन्छ ।

Leave a Reply