बेनी–जोमसोम–कोरला सडकको गलेश्वरखण्डमा पानीको पोखरी छ । सडक नजिकै रहेका पाइपहरू फुटेका छन्। सडकखण्डमा पैदलयात्रीले खानेपानीको पाइप फुटेर बनेको पोखरीबाटै आवतजावत गर्दा नजिकै रहेका पाईपका धाराले भिजाउँछ । मोटरसाईकलमा आवतजावत गर्नेले मिनी पोखरीमै डुबुल्की मार्नुपर्ने अवस्था छ । विगत डेढमहिना देखि सदरमुकाम बेनीमा खानेपानीको चरम अभाव भइरहदाँ सडकका ठेकेदारका डोजर चालकले पाइपलाई निसाना बनाएर जथाभावी खन्दा खानेपानीको पोखरी बनेको छ ।

बेनी खानेपानी तथा सरसफाई उभपोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका वडा नं ८ राम्चेको पुम्दीखोलाबाट पानी ल्याएर सदरमुकाम बेनी सहित गलेश्वर, बगरफाँट र मंगलाघाट क्षेत्रका करिव २० हजार उपभोक्तालाई वितरण गदैंआइरहेको खानेपानी सडक विस्तारको क्रममा पाइपमा क्षती भएपछि नियमित वितरणमा समस्या भएको बेनी खानेपानी उपभोक्ता सरसफाई संस्थाले जनाएको छ । पहिरोले भन्दा पनि ठेकेदारको लापरवाहीले समस्या भइरहेपनि लिखित सहमतिलाई समेत अटेर गरेको संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताए ।

पाइपमा क्षति पुर्याएपछि पानी आपूर्ति बन्द हुने गरेको अवस्थामा यसबर्ष सडकखण्ड अन्तरगत गलेश्वरको पुलवारी र गलेश्वरको पुलपारीको सडक विस्तारको जिम्मा लिएकाले पाइपलाई नै निशाना बनाएजस्तै दैनिकजसो क्षती भएपछि खानेपानीको हाहाकार नै मच्चिएको बताए । बेनी नगरपालिका–३ भकिम्लीको दुधेखोलाले आपूर्ती सहज हुदैन् ।

पुम्दीखोला बेनीका लागी आवश्यक पानीको अधिकांस क्षमता पुरा गर्ने भएपनि दुधेखोलाको मुहान नै सानो भएको संस्थाका प्रबन्ध कुमार थापाले बेनीअनलाइनलाई बताए । दुबै मुहानबाट ल्याइएको पानी बेनीबजार भन्दा माथि बराहपाखो समुदायिक वनमा निर्माण गरिएको ट्याङकीमा जम्मा हुन्छ । प्रतिसेकेण्ड २५ लिटर पानी जम्मा हुने ट्याङकीबाट घर–घरमा पानी वितरण गरिएको छ ।

नियमित आर्पूतीमा समस्या भएपछि खानेपानीमा लोडसेडिङले समेत सहज भएको छैन् । खानेपानीको हाहाकार हुदाँ बेनी नगरपालिकाका जनप्रतिनिधि मौन छन् । जनताको मतबाट जितेर हरेक समस्यालाई समाधान गर्ने बाचा गरेका जनप्रतिनिधिहरुले खानेपानीको अभावमा तड्पिएका बेनीबजारबासीलाई सहज आपूर्तीका लागि भएका छलफल बाहेक कुनैपनि अस्थायी समाधानका उपायमा सक्रियता देखाएका छैनन् ।

जनप्रतिनिधिको काम हाँडेभीरका कुलदिप जुग्जालीले चोकचोकमा पुगेर पानी वितरण गरे पुरा गरेका छन् । खानेपानीको अस्थायी ब्यवस्थापनमा बेनीबजारबासीले जनप्रतिनिधिको भूमिका खोजिरहेको अवस्थामा नगरपाालिका तथा वडास्तरबाट जनतालाई तत्काल आवश्यक पर्ने खानेपानीको आर्पूती नहुदाँ बजार बाहिर सम्म पुगेर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको छ ।