सन्तोष थापा/पर्वत नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतमा एक जना वडा सदस्य पक्राउ परेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका ६९ वर्षीय विष्णुहरि पराजुली बलात्कारको आरोपमा पक्राउ परेका हुन् । बलात्कृत भएको घटना गाउँमा नै मिलाउने प्रयास भएपछि पर्वतमा क्रियाशील मानव अधिकारकर्मी र प्रहरीको सहकार्यमा उनलाई एक हप्तापछि पक्राउ  गरिएको हो ।

गएको साउन ६ गते साँझको समयमा ९ वर्षीया बालिका पराजुलीबाट बलात्कृत भएकी थिइन् । बालिका बलात्कारको घटना गाउँमा नै मिलाउने प्रयास भैरहेको थाहा भएपछि स्थानीयले प्रहरीसमक्ष न्याय दिलाउन माग गरेका थिए ।आरोपित पराजुलीलाई प्रहरीले मंगलबार उनकै घरबाट नियन्त्रणमा लिएर त्यसै दिन यौन दुर्व्यवहार अन्तर्गत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

एक लाख रुपैँया दिने शर्तमा मिलापत्र

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले अनुसन्धान जारी रहेको र यसअघि घटना गाउँमा नै मिलाइएको भन्ने बारेमा सोधपुछ भैरहेको बताउनुभयो ।प्रहरीका अनुसार आरोपित पराजुलीले आफैँले सञ्चालन गरेको राइस मिलमा बालिकालाई बोलाएर १० रुपैँयामा ललाइफकाइ गरी बलात्कार गरेको पाइएको छ ।

पीडित बालिकाका आफन्तले बलात्कारको घटना थाहा पाएपछि आरोपितले सुरुमा १० हजार रुपैँया दिने र घटनालाई बाहिर नल्याउने शर्त राखेका थिए । तर फेरि पीडित पक्षको तर्फबाट केही व्यक्तिहरुले एक लाख रुपैँयाको माग गरेपछि रकम दिने सहमति भएको थियो । रकम दिने सहमति भए पनि पीडित पक्षले नपाइसकेको र साउन १६ गते मात्रै दिने सहमति भएको प्रहरीले जनाएको छ ।

बालिकाको एक सातापछि स्वास्थ्य परीक्षण

बालिका बिरामी पर्दै गएपछि एक सातापछि मात्रै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित बालिकाकी आमासहित आरोपित पक्षका आफन्तहरुले बालिकालाई बाग्लुङ अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराएका थिए ।बालिका बलात्कारजस्तो जघन्य अपराध गाउँमा नै कानुन विपरीत मिलापत्र भएको जानकारी भएपछि आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

Leave a Reply