नविन जुग्जाली/ ती नारी जसले जो कोहीको अनुहार हेरेको भरमा उसको भविष्यवाणी गरिदिन्थे । ग्रहादिको प्रभावबाट मुक्त हुन सकिने केही आध्यात्मिक उपायहरु दिन्थे । तिनै नारीले कालान्तरमा म्याग्दी जिल्लाको वेगखोला गाविसमा नेपालकै लामो र अग्लो पुल बन्न सक्छ भनी सुन्दर परिकल्पनाको चित्र आफ्नो मनमष्तिष्कमा उतार्दै निकट भविष्यमा नै आफ्नो वेगखोला गाउँ पर्यटकीय क्षेत्र बन्न सक्छ भनी सुन्दर सपनाहरुको भविष्यवाणी गर्ने अद्भूत नारी हुन् ओमकुमारी फगामी । उहाँको जन्म पिता नन्दबहादुर फगामी र माता मतिसरा फगामीको कोखबाट जेठी पुत्रीको रुपमा वि.सं. २०३२ साल पौष १५ गतेका दिन वेगखोला गाविस अन्तर्गत वराहथान भन्ने ठाउँमा भएको हो ।

प्रारम्भिक शिक्षा तत्कालीन श्री महादेव निमावि वेगखोला (हाल मावि) बाट आफ्नो विद्यार्थी जीवन थालनी गरेका फगामी हुने बिरुवाको चिल्लो पात भने झैं सानै उमेरदेखि अति नै चलाख बुद्धि हुनुको साथै पढाईमा लगनशील स्वभावमा हक्की एवम् प्रगतिशील र गुणमा अनुशासित विद्यार्थी थिइन् । जसका कारण त्यस विद्यालयबाट राम्रो श्रेणीमा उत्तीर्ण भई हाई स्कुल अध्ययनको लागि तत्कालीन श्री मुक्तिधाम मावि राखु भगवतीमा भर्ना भई आफ्नो हाई स्कुलको अध्ययन शुरु गरेकी फगामीले वि.सं. २०४८ सालको एसएलसी परीक्षामा दोस्रो श्रेणीमा नियमिततर्फ उत्तीर्ण भएकी थिइन् ।

यस पश्चात् युनिसेफ संस्थाद्वारा सञ्चालित प्रौढ शिक्षा लिई उकरिब ६ महिना जति शिक्षक प्रशिक्षण सेवा गरेकी ओमकुमारी फगामीले आफ्नो उर्जालाई बिस्तारै सामाजिक सेवामा लगाउन थालिन् ।नेतृत्वका प्रशस्त खुबी भएकी फगामीले बाँसबोट आमा समूह वेगखोलाको अध्यक्ष र मूल समितिको सचिव पदमा रही सक्षम नेतृत्व गर्दै आफ्नो समाजमा भएका थुप्रै किसिमका सामाजिक, विकृति र विसंगतिको विरुद्धमा उभिँदै आफ्नो कार्यकालमा थुप्रै उल्लेखनीय कार्यहरु कुशलतापूर्वक सम्पादन गरेकी थिइन् ।

यस्तै सिलसिलामा नेपाल सरकार, महिला तथा बालबालिका कार्यालय म्याग्दीले म्याग्दीका केही गाविसहरुलाई छनौट गरी आफ्नो महिला जागृति तथा आयआर्जन कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएकोले उक्त कार्यक्रम ती गाविसहरुमा लैजानको निमित्त प्रत्येक गाविसबाट एउटा सक्षम योग्य व्यक्ति छनौट गर्नुपर्ने थियो । यसै क्रममा वेगखोला गाविसबाट श्री ओमकुमारी फगामीलाई छनौट गरी केही दिनको तालिम पश्चात् सामाजिक परिचालिका पदमा राखेर जिम्मेवारी दिएको थियो ।

यसपछि बदलिँदो समय र परिवर्तनसँग महिलाहरुको हकहित एवम् अधिकार संरक्षण सम्वद्र्धन गरी विकासको मूल प्रवाहमा समाहित गर्न ग्रामीण क्षेत्रका महिलाहरुको आर्थिक, सामाजिक र राजनैतिक क्षेत्रको समग्र विकास गर्न विपन्न महिला वर्ग, समुदायको जीवनस्तर माथि उकास्न महिला सशक्तिकरण क्षमता अभिवद्धि र व्यक्तित्व तथा नेतृत्व विकास गर्न वडा नं. १ देखि ९ वडासम्म छरिएर रहेका सम्पूर्ण महिलाहरुलाई एकीकृत गर्दै सिंगो समाजको उन्नति प्रगतिका लागि वि.सं. २०५६÷०५७ सालदेखि टोलटोलमा गई समूह गठन गर्नेदेखि लिएर संस्था स्थापना, दर्ता सहकारीको विनियम, सिद्धान्त, मूल्य र मान्यतामा रही काम गर्नको लागि नेपाल सरकार सामाजिक परिचालिकाको पदमा खुल्ला आयोग दिन लगाई थोरै मात्र मासिक रुपमा प्रोत्साहन भत्ता दिने गरी अस्थायी नियुक्ति पत्र, प्रमाणपत्र दिएर काममा खटाएको थियो ।

यसरी ओमकुमारी फगामीले आफ्नो गाविसमा सक्षम सामाजिक परिचालिकाको जिम्मेवारी बहन गर्दै ९ वटै वडामा आफ्नो पिठ्यँुमा नाबालक नानी, काँधमा संस्थाको जिम्मेवारी र मनमा उद्देश्य बोकी झण्डै ३ वर्षसम्म कठोर संघर्ष गरेकी फगामी देउराली महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. स्थापना गर्न सफल भएकी थिइन् ।

थोपाथोपा मिलेर सागर बन्छ, रुपैयाँरुपैयाँ मिलेर हजार बन्छ भन्ने उक्तिलाई मूल मन्त्र बनाएर निरन्तर अगाडि बढेकी फगामीका साहसिक पाइलाहरुलाई जस्तोसुकै समस्या र चुनौतिले विचलित गर्न सकेन । परिणाम स्वरुप वि.सं. २०६६÷०९÷१४ गतेको दिनमा विधिवत् रुपमा डिभिजन सहकारी कार्यालय बाग्लुङ्गमा दर्ता गरी यस संस्थाको नाम शिवशक्ति महिला विकास बहुउद्देश्यीय सहकारी संस्था स्थापित भएरै छाड्यो ।

यसरी छोटो समयको अन्तरालमा निकै राम्रो प्रगति र सफलता हासिल गर्दै आफ्नो संस्थाले विभिन्न समयमा विभिन्न कार्यक्रमहरु भव्य रुपमा सम्पन्न गर्दै वि.सं. २०७२ वैशाख ५ गतेका दिन सहकारीमा सम्पूर्ण घरधुरी आबद्ध बृहत घोषणा कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री टेकबहादुर केसीज्यू र विशिष्ट अतिथि स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलज्यूको समुपस्थितिमा सम्पन्न भएको थियो ।

त्यसै समयमा प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीज्यूबाट कदर पत्र एवम् प्रशंसापत्रबाटसमेत सम्मानित भएकी थिइन् । यसै क्रममा वि.सं. २०७० सालदेखि श्री महादेव माविका जेहेन्दार एवम् एसएलसीमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गर्ने जस्ता प्रशंसनीय कार्यको थालनी गरेको छ । यसका साथै श्री महादेव माविका छात्राहरुका लागि सेनिटरी प्याड वितरण गरिएको थियो ।

वि.सं. २०६९ सालदेखि यस संस्थालाई प्रवद्र्धन गर्ने गरी प्रत्येक वर्ष गाउँ परिषदमा छुट्याइने महिला लक्षित वर्गको रकम महिलाहरुलाई उपलब्ध गराउँदै आएको छ । यति मात्र होइन ग्रामीण तहमा अधिकांश निम्न वर्गका जनताहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा अतुलनीय टेवा दिएको छ । जसले गर्दा हरेक मान्छेलाई बचत गर्ने बानीको विकास भएको छ ।

जीविकोपार्जनको लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग संयोजकको भूमिका निर्वाह गरी कृषिमा आधारित तरकारी खेती, व्यवसाय प्रवद्र्धनका लागि सदस्यहरुलाई सीप विकास तालिम प्लाष्टिक, टनेल वितरण गर्दै आएको छ र व्यावसायिक तरकारी खेती, करेसाबारीको लागि कृषकहरुलाई मौसमअनुसारको बीउबिजनहरु, पशुपालनको लागि भकारो सुधार, ब्याड राँगो, कुखुरापालन तालिम, कुखुरा चल्ला खरिद गर्न रु.सत्तरी हजार बराबरको आर्थिक सहयोग र प्राविधिक सहयोग गर्दै आइरहेको छ र पैसाको समस्या आइपरेको खण्डमा सहज रुपमा ऋण सहयोग दिलाउँदै आएको छ ।

गाउँका मान्छेले आफ्नो धन सुरक्षित गर्न बेनी, पोखराको बैंक धाउनुपर्ने बाध्यता थियो । त्यस झमेलाबाट वेगबासी राम्ररी मुक्त भएका छन् । सहकारीले आ.व. २०७३÷०७४ मा हरित कृषि सडकलाई रु.३०,०००।– र श्री महादेव माविलाई रु.१०,०००।– र वेगखोला युवा क्लबलाई रु.१०,०००।– अनुदान वितरण गरेको थियो । अन्तरजिल्ला अन्तर संस्था रेखांकन भ्रमण तथा तालिम महिला तथा बालबालिका कार्यालयमा माग गरी क्षमता विकास स्तर वृद्धि गर्नका लागि विभिन्न ठाउँमा भ्रमण अवलोकन गर्ने गराउने कार्य गरेकी छिन् ।

संसारका सफल व्यक्तिहरुले आफ्ना हरेक चुनौतिहरुभित्र एउटा सुनौलो अवसर देखेका हुन्छन् । साँच्चि नै ओमकुमारी फगामी एउटा सफल पात्र हुन् जसले हिजोका आफ्नो चुनौतिहरु एउटा राम्रो अवसर देखेकी थिइन् । जसले गर्दा एउटा सक्षम नारीको पसिनामा सहकारी संस्था फुलेको र फलेको छ र एउटा निष्ठावान र शीलवान् नारीको त्याग र तपस्यामा आशा र भरोसाको रोशनी उदाएको छ ।

जनयुद्धकालमा जनप्रतिनिधिविहिन बनेको तत्कालीन गाविसलाई समेत सम्हालेकी थिइन् । निडर एवम् हक्की स्वभावकी फगामीले आफ्नो गाविस मात्र नभै चिनेजानेका छिमेकी गाविसहरुका गरिब तथा उत्पीडित महिला वर्गहरुमा आइपर्ने अन्याय, अत्याचार, दमनको विरुद्धमा सारथी बनेर सत्यको पक्षमा वकालत गर्दै थुप्रै मुद्दाहरु आफ्नो विवेक र तर्कशक्तिको सदुपयोग गरी पीडितहरुलाई न्याय दिलाउँदै आएकी छिन् ।

यति मात्रै होइन आफ्नो महिला सहकारी संस्थामा आबद्ध बाँदुक, तिप्ल्याङ्गका महिला सदस्य दिदीबहिनीहरुलाई भौगोलिक विकटताको कारण आवतजावतमा कठिनाई परेको मर्मलाई राम्ररी बुझेकी ओमकुमारी फगामीले धेरै वर्ष अघिदेखि नै वेग बाँदुक जोड्ने झोलुङ्गे पुल भइदिएको भए हाम्रा दिदीबहिनीहरुलाई आवतजावतमा अत्यन्तै राम्रो सुविधा हुने थियो भनी अन्तरचाहना र परिकल्पना गरेकी थिइन् ।

संसारमा जोसँग आशावादी सोच छ, जोसँग इच्छाशक्ति प्रबल छ, जोसँग जीवन र जगतलाई हेर्ने दृष्टिकोण सकारात्मक छ । वास्तवमा त्यस्ता मान्छेहरु नै सफल भएको देखिन्छन् । यस्तो मनोविज्ञानका फगामीले आफ्नो गाउँमा विभिन्न सम्भावनाहरुमध्ये यसै झोलुङ्गे पुललाई नै सफल निर्माण गर्न सकियो भने आफ्ना गाविसका जनताहरुलाई सुविधा हुनुको साथै पर्यटकीय दृष्टिले वेगखोलाको भविष्य उज्ज्वल हुने सम्भावना देखेपछि पुल निर्माण योजनालाई सफल बनाउनको निम्ति अर्जुनदृष्टि लगाएकी थिइन् ।

यस पश्चात् वेगखोलामा पुल निर्माण योजनालाई जिल्लाले उच्च प्राथमिकतामा राख्दै सो योजनालाई सर्वदलीय बैठकबाट पारित ग¥यो । अनुमानित ३४५ मिटर लम्बाईको पुललाई ३६५ मिटर लम्बाईको बनाउनुपर्छ भनी फगामीले निवेदन गरेपछि नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति खमबहादुर गर्बुजा र स्थानीय विकास अधिकारी चिरन्जीवी पौडेलको विशेष पहल कदममा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहज्यूले पारित गरिदिनुभएको थियो ।

नेपालकै लामो झोलुङ्गे पुलको डिटेल सर्भे वि.सं. २०७२ साल असोज २२ र २३ मा भएको थियो र वि.सं. २०७३ साल जेठ ३१ गतेको दिनमा स्थानीय विकास अधिकारी श्री चिरन्जीवी पौडेलज्यूको बाहुलीबाट ३६५ मिटर लामो पुलको शिलान्यास भएको थियो । यस शिलान्याससँगै वेगखोलाको गौरवशाली इतिहास कोरिएको छ । यसको पछाडि समाजका विभिन्न व्यक्तित्वहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग र योगदान रहँदै आएको छ । तथापि यस सफलताको पहिलो श्रेय फगामीलाई नै जान्छ ।

यसै गरी फगामीले सहकारीको भवन निर्माण समितिको कोषाध्यक्ष, वेगखोलामा बृहत खानेपानी योजनाको कोषाध्यक्ष, यातायात निर्माणतर्फ घुमाउनेताल पिप्ले भगवती वेगखोला, चिमखोला, कुइनेमंगले मोटरबाटो उपभोक्ता समितिको कोषाध्यक्ष र पुल निर्माण उपभोक्ता समितिको सदस्य भई उल्लेखनीय भूमिका निर्वाह गरिसकेकी छिन् ।

जनताको सेवा गर्ने भने पछि हुरुक्क हुने फगामीले राजनीतिलाई राम्रो माध्यमको रुपमा हेरेकी थिइन् । तर कर्तव्यनिष्ठ भई पार्टी र जनतालाई योगदान दिने इमान्दार कार्यकर्ताको पार्टीबाट उचित मूल्याङ्कन हुन नसक्ने र राजनीतिक कार्यकर्ताको क्षमता र योगदानको आधारमा कदर हुन नसक्ने संकेत देखेपछि फगामीले जिल्लाकै नेतृत्व गर्न सक्ने क्षमता आफूसँग हुँदाहुँदै पनि सामान्य मतदाताको रुपमा रहने मनस्थिति बनाएकी छिन् ।

जनकल्याणको लागि समाजसेवा र आत्म कल्याणको लागि आध्यात्मिक साधनालाई आफ्नो जीवनको अभिन्न अङ्ग बनाएकी फगामीले भारतका विश्व प्रसिद्ध सन्त डा. नारायणदत्त श्रीमालीज्यूबाट वि.सं. २०५६ सालतिर दिक्षा लिई निरन्तर मन्त्र साधना गर्दै आएकी छिन् ।जसले आफू स्वयंलाई जान्दैन, उसले संसारलाई जान्न सक्दैन । जसले संसारलाई जान्दैन, उसले संसारबाट केही पाउने छैन । केवल खाली हात फर्किनुपर्नेछ । जसले आफू स्वयं जान्दछ, उसले संसार आफूभित्र पाउनेछ ।

त्यतिबेला मात्र जीवनको अमृत रस जीवनको अर्थ आफैभित्रबाट प्राप्त हुनेछ । यसकारण आफूलाई चिन्नु नै सम्पूर्ण मनुष्यको परम धर्म हो भनी बुझेकी फगामीले प्रशस्त आध्यात्मिक अनुभव र अनुभूति बटुलेकी छिन् । वि.सं. २०६० देखि आजसम्म निरन्तर योग साधनामा जोडिँदै आएकी छिन् ।यसरी लामो समयदेखि लगातार साधनाबाट आफूलाई निखार्दै आएकी फगामीले वि.सं. २०७० सालमा योग प्रशिक्षक कोष लिई नवीन आनन्द योग केन्द्र नेपालको योग प्रशिक्षक समेत बनेकी छिन् र वि.सं. २०७२ सालमा विधिवत् रुपमा स्थापित नवीन आनन्द योग केन्द्र नेपालको केन्द्रीय कोषाध्यक्ष पदमा रही विभिन्न समयको विभिन्न कार्यक्रमहरुमा अति नै प्रशंसनीय एवम् सराहनीय कामहरु गरी सफल नेतृत्व गरिरहेकी छिन् ।

यस्तै निडर खुशी भएका फगामीले संस्थाको उद्देश्य प्राप्तिका निम्ति आफ्नो नीजि स्वार्थलाई आहुति दिँदै संस्थाको समस्या र चुनौतिहरुमा दिनरात तल्लीन रहेकी थिइन् । नवोदित संस्था नवीन आनन्द योग केन्द्र नेपाल वास्तवमा त्यतिबेला आर्थिक रुपले शुन्यतामा थियो । केही साना ठूलो कार्यक्रम सञ्चालन गर्नु पर्दा हात थाप्नु पर्ने दयनीय स्थिति थियो । संस्थाको यही कमजोर स्थितिलाई उकास्नुपर्छ भन्ने सद्भाव राखेकी फगामीले नवीन आनन्द योग केन्द्र नेपालको उद्घाटन समारोह सम्पन्न गर्नको निमित्त संस्थासँग आर्थिक नभएकोले बेनी बजारबासीहरुको प्रत्येक घरघरमा पुगी हात फैलाएर सहयोग करिब ६० हजार जम्मा गर्न सफल भएकी थिइन् । फगामीको साहस र संकल्पबाट जुन किसिमको परिणाम आएको थियो । वास्तवमा त्यस परिणाम नै त्यतिबेलाको चुनौतिमा आर्थिक आधार बनेको थियो ।

यही कारण संस्थाप्रति कर्तव्यनिष्ठ भई वफादारी भूमिका निर्वाह गरेको भनी संस्थाले उच्च मूल्याङ्कन गरी दोस्रो अधिवेशनको अवसरमा उत्कृष्ट उपाधि दिएर सम्मान गरिएको थियो । यसअर्थमा आज उनको सांसारिक जिन्दगी रित्तो भए पनि आध्यात्मिक रुपमा आध्यात्मिक जिन्दगी आत्म सम्मान र आत्म सन्तुष्टिले भरिपूर्ण छ ।
योग प्रशिक्षक जुग्जाली बेनीअनलाइन र बेनी साप्ताहिकका नियमित लेखक  हुन् 

Leave a Reply