भरत खत्री÷ रत्नेचौर
बेनी नगरपालिका वडा नं १ रत्नेचौरका ज्ञानेन्द्र किसान विहानै तरकारी बारीमा पुग्छन् । बैदेशिक मोह त्यागेर गाउँमै तरकारी खेती सुरु गरेका किसानलाई अहिले भ्याई नभ्याई छ । सानो लगानीबाट सुरु गरेका किसानले सिजनमा मासिक १ लाखसम्म आम्दानी गर्ने गरेको बताउँछन् । ‘गाउँमै केही गर्ने योजना बनाएको छु,‘तरकारीबाट हुने आम्दानीले साथ दिएको छ’ किसानले भने ।

उनले सिजनमा टमाटर, काउली,सिमी, लौका, घिरौला लगाएत उत्पादन गरी छिमेकी बागलुङ र सदरमुकाम बेनीबजारमा विक्री गर्ने गरेका छन् । उनले तरकारीलाई बजारसम्म पुर्याउँदा बजारको समस्या नभएको बताए । ‘तरकारी खेतीबाटै आत्मनिर्भर भएको छु,‘टमाटरबाटै १ लाखसम्म कमाई हुन्छ’ किसानले भने ।उनले अन्य तरकारीबाट समेत राम्रो आम्दानी सुरु भएको बताउँदै विस्तारै आम्दानी बढाउने बताए ।

मेहनत गरेर तरकारी खेतीबाटै हुने कमाईले साउदी अरबको भन्दा धेरै भएको बताउँदै अब विदेश जाने योजना नभएको बताए । उनले हिउँदमा बेमौसमी तरकारी उत्पादन गर्ने योजना भएको बताए । साउदीमा दुई महिनाको कमाई गाउँमा मेहनत गरे एक महिनामै सम्भव भएको बताए ।

यता वडा अध्यक्ष टेकबहादुर रावलले वडामा तरकारी उत्पादनलाई प्राथमिकता दिएको बताए । ‘टमाटरका लागि पकेट क्षेत्र बनाएको छु,‘भविस्यमा कृषिमा निरन्तर प्राथमिकता दिन्छौ’ रावलले भने । उनका अनुसार तरकारीको बजार अभाव नभएकाले गाउँमै तरकारी उत्पादन गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने बताए ।