बर्षभरी जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पूजाआजा गरी सम्मान गरिन्छ । पशुअधिकारकर्मीले गाईगोरुलाई धार्मिक परम्पराअनुसार पूजाआजा गर्ने पशुचौपायाका रुपमा समेत ब्याख्या गर्ने गर्दछन् । बर्षभरी जोतिएर मानवहितमा लाग्ने गोरुलाई कालिगण्डकीको भेलसँगै दुईसातादेखि अलपत्र परेको अवस्थामा जोखिम मोलेर उद्धार गरेका छन् । म्याग्दी, बागलुङ र पर्वतका एमआरआरका सदस्यहरुले निकै डोरीको सहायतामा उर्लिएको भेलसँगै खोलबाट गोरुलाई बचाउन सफल भएका छन् ।

बागलुङ नगरपालिका वडा नं १२ र पर्वतको फलेबास नगरपालिका ४ को सिमानामा अवस्थित कालिगण्डकीमा फसेको गोरुलाई २० जनाको यूवाको टोलीले उद्धार गरेको म्याग्दीका प्रकाश पौडेलले बताए । ‘पशुको पनि जीवन हुन्छ,‘अलपत्र अवस्थामा रहेको जानकारी पाएपछि हामीले उद्धार गयौं’ पौडेलले बेनीअनलाइनलाई भने।

उनका अनुसार यूवाहरुले नदीका वारि र पारि बसेर लामो डोरीमा सुर्केनी पासो बनाएर बाहिर निकालिएको थियो । गोरुलाई दुवै तर्फका यूवाहरुले नदी नजिकै पुगेर उद्धार गरेपछि अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । पौडेलको नेतृत्वमै गतबर्ष रघुगंगा नदीमा फसेको कुकुरको जीवितै उद्धार गरिएको थियो । पशुचौपायाको पनि जीवन हुन्छ भन्ने सन्देश फैलाउन उद्धारमा सक्रिय भएको यूवाहरुले बताएका छन् । हिन्दु परम्पराअनुसार द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्धन पर्वत उचाली गोकुलबासीलाई मुसलधारे बर्षाबाट बचाएको सम्झनामा हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारमा गोर्वधन पर्वतको पूजा गर्ने चलन छ ।

विज्ञापन