बागलुङको बडिगाड गाउँपालिकाले पाँचौँ गाउँसभाबाट भीरमाैरीकाे महको अवैध चोरी निकासी रोक्न मह काढ्दा गाउँपालिकाको अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था गरेको छ । गाउँपालिकाभित्रका जङ्गल तथा भीरमा पाइने ‘भीर मह’ व्यक्ति र विभिन्न समूहले मनपरी काड्ने गरेको पाइएपछि चालू आर्थिक वर्षदेखि मह शिकार (हनि हन्टिङ)मा कडाइ गरेको गाउँपालिकाले जनाएको छ ।

सामुदायिक र सार्वजनिक स्थलमा हुने भीर महबाट निश्चित व्यक्तिले फाइदा लिने र लापरवाही गरेर मह काड्दा भीर मौरीसमेत लोप हुने अवस्था आएका कारण यसलाई संरक्षणका लागिसमेत सहयोग पुग्ने हुनाले अनुमतिको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष मेयर सिंह पाइजाले जानकारी दिनुभयो ।

यस नयाँ व्यवस्थाले वडा र गाउँपालिकाको राजश्वमा समेत वृद्धि भएर जाने बताइएको छ । गाउँपालिकाले मह शिकारका लागि निश्चित कार्यविधि निर्माण गरेर अनुमति दिने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताउनुभयो । गाउँपालिकाका रणसिंह, ग्वालीचौर, शिसाखानी, दर्लिङ, भिमगिठेका भीर मौरीका लागि उपयुक्त स्थल मानिन्छन् ।

विज्ञापन