जिल्लाको रघुगंगा गाउँपालिकाले छोरी जन्मिँदा मुद्धती खाता खोल्ने भएको छ । स्वास्थ्य संस्थामा छोरी जन्मिए मुद्धती खाता खोलेर ३ सय जम्मा गर्ने रघुगंगा छोरी पेवा बचत कार्यक्रम सुरू गरेको हो । मंगलबार गाउँकार्यपालिकाको बैठकले कार्यविधि पारित गदैं गाउँपालिकाले एक परिवारभित्र जन्मिएका दुई छोरीको बैंक खातामा गाउँपालिकाले १ सय, अध्यक्ष भवबहादुर भण्डारीले सरकारी सेवासुविधा जम्मा गरेको कोषबाट १ सय र अभिभावकले १ सय जम्मा गर्नुपर्ने ब्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

‘बुधबारबाटै कार्यान्वयनमा आउँछ,‘छोरी लिंग पहिचन गरी छोरी भएमा गर्भपतन गर्ने तथा बालविवाहलाई रोक्न सघाउँछ’ थापाले बेनीअनलाइनलाई भने ।छोरी जन्मिएपछि समाजमा नकारात्मक दृष्टिकोणले हेर्न परम्परालाई तोड्द कार्यक्रमले सघाउने बताइएको छ । कार्यविधिले अभिभावकले १० बर्षको छोरी भएलगत्तै बार्षिक आम्दानीको ५ प्रतिशत जम्मा गर्नुपर्ने छ । आम्दानीका बारेमा वडा कार्यालयबाट जनप्रतिनिधिले समेत अवलोकन गर्ने र जम्मा नगरे ताकेता गरिने छ ।

छोरीको नाममा रकमसहितको बैंक खातामा २० बर्षसम्म रकम निकाल्न नमिल्ने प्रावधान रहेपनि अति गरिब तथा विपन्नले वडा कार्यालयको सिफारिसमा छोरीको शिक्षादिक्षामा सघाउ पुग्ने गरी १० बर्षपछि रकम प्रयोग गर्न मिल्ने ब्यवस्था राखिएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

‘छोरीलाई समाजमा सक्षम बनाउन यो कार्यक्रमले दिर्घकालिन सघाँउ पुग्छ,‘उच्च शिक्षाका लागि छोरीलाई पुग्ने आर्थिक खातामै जम्मा हुन्छ’ भण्डारीले भने । उनले एक परिवारभित्र दुईवटा छोरी भएपछि स्थायी बन्ध्याकरण गर्नेलाई समेत प्रोत्साहन गर्ने गरी थप कार्यक्रम ल्याउने बताए ।

‘भविस्यमा छोरीकै हितमा हुने गरी थप कार्यक्रम जोड्ने छौ,‘गाउँपालिकाभित्रका जनतालाई प्राथमकिता दिएर योजना बनाइरहेका छौ’ भण्डारीले भने । उनले छोरी पेवा बचतमा निक्षेप राखी उच्च शिक्षा अध्ययनका बेला उपयोग गर्ने सहज हुने बताए । छोरीकै नाममा हुने खाताको संरक्षक अभिभावक र गाउँपालिका हुने छन् । छोरीको २० बर्षको उमेर अगाडी नै विवाह गरेमा खातालाई गाउँपालिकाको आम्दानीमा रुपान्तरण गरिने छ । गाउँकार्यपालिकाले पेवा बचत सहित २० वटा विभिन्न निर्णय गरेको वडा अध्यक्ष एवम् प्रबक्ता जिवनकुमार मल्लले बताए ।