हेपाटाइटिस ‘बि’ को संक्रमणबाट ग्रसित आमाछोरीको उपचारमा सहयोगको याचना गरिएको छ । जिल्लाको बेनी नगरपालिका वडा नं ३ भकिम्ली मुसुङमा लामो समयदेखि हेपाटाइटिस ‘बि’ रोगले ग्रसित तिलकुमारी र उनकी छोरीको उपचारमा आर्थिक अभाव भएपछि गाउँकै स्वास्थ्य चौकीबाट समान्य उपचार गरी गाउँमै अलपत्र परेका छन् । गाउँकै विपन्न तिलकुमारीले संक्रमणकै अवस्थामा छोरीको जन्मदिएपछि समस्या भएको वडा अध्यक्ष पदम पुनले बताए ।

‘आमाछोरीलाई नै संक्रमण देखिएको छ,‘गाउँमा समान्य आर्थिक संकलन गरिएको छ’ पुनले बेनीअनलाइनलाई भने ।उपचारमा आर्थिक समस्यालाई टार्न तिलकुमारीका श्रीमान रोजगारको खोजीमा मलेसियामा पुगेपनि अलपत्र जस्तै छन् । हर्कबहादुरले समेत काम नपाएर अलपत्र परेको अवस्थामा श्रीमति र छोरी उपचारको खोजीमा घरमै बेडबाट सहयोगको अपिल गरेको स्थानीय पूर्ण गोतामेले बताए ।

‘आर्थिक सहयोग जुटाउन सकेमा दुवैको ज्यान जोगाउन सकिन्छ,‘ चिकित्सकले तत्कालै उपचारका लागि लैजान अनुरोध गरेका छन्’ उनले भने । विपन्न परिवार भएकाले विहानबेलुकी हातमुख जोड्न समेत मुस्किल भएको अवस्थामा उपचारमा समान्य खर्च समेत जुटाउन नसक्ने अवस्थामा स्थानीयले घरदैलो अभियानमार्फत केही आर्थिक सहयोग जुटाएका छन् ।

आर्थिक अभावका कारण उपचारका लागि पोखरामा उपचारका लागि संकलित सहयोगले अपुग हुने स्थानीयको भनाई छ । वडा कार्यालयमार्फत सिफारिस समेत बनाइएको छ । हेपाटाइटिस डिएनए भाइरसबाट सर्ने रोग हो । संक्रमित सुई वा ब्लडको प्रयोग र असुरक्षित यौनसम्बन्धका कारण लाग्ने रोग संक्रमित आमाको गर्भमा रहेको बच्चामा पनि सर्ने गर्दछ ।