बेनी नगरपालिका वडा नं ३ भकिम्लीको हल्लेगौंडामा जीप दुर्घटनामा ६७ बर्षिय रत्नबहादुर खत्रीको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट मुसुङ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप पानीस्वाँरास्थीत हल्लेगौंडाको तल्लो घुम्तीबाट करिब ३३ मिटर तल खस्दा गम्भीर घाईते भएका खत्रीको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बृद्ध खत्रीको शरीरका विभिन्न भागमा चोट लागेको थियो ।

चिप्लो बाटोमा एक्कासी जीपको ब्रेक फेल भएपछि जीपमा सवार १४ जना घाईते भएका थिए । घाईतेमध्ये भकिम्ली मुसुङका इन्द्रबहादुर विक, ज्ञानकुमारी श्रीष, भकिम्लीकी भुमिदेवी खातीको बेनी अस्पतालमै उपचार भइरहेको छ भने बाँकी १० जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

बेनपा–७ मंगलाघाटका विशाल शाक्य, उनकी श्रीमती शान्ता शाक्य, छोरीसाहिदा शाक्य, मंगला गाउँपालिका बरंजाका विक्रम सुनार, बरंजा बुकेनीका बुद्धिसरा सुनार,भकिम्ली डाँडाखानी डम्बरबहादुर छन्त्याल, आइतराम विक, मंगला गाउँपालिका–३ बरंजा रत्न बहादुर खत्री, रुपा घर्ती, जीप धनी एवम् चालक यामबहादुर श्रीष र बागलुङ नगरपालिका ३ गुठीकी मञ्जु खत्रीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाईतको शरीरका विभिन्न भागमा चोट लागेको छ। २०७३ मंसिर ११ गते बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।