जन्मदिने बुबालाई बेलुकी मलेसियाबाट फोन गर्ने तयारीमा थिए प्रकाश खत्री । तीनमहिना अगाडी मलेसियामा पुगेका प्रकाशसँगै दक्षिण कोरिया र इराकको कुर्दिस्थानबाट बिमल र कमलले ६७ औ जन्मोत्सवको अवसरमा कामबाट फर्किएर संसारमा सबैभन्दा ठूला जन्म दिने बुबालाई शुभकामना दिने तयारीमा थिए । जीवनमा धेरै संघर्ष गरेका बुबालाई प्रदेशबाट जन्मदिनको शुभकामना सन्देश पठाउने चाहना पुरा भएन् ।

भारतीय सेनाबाट अवकाश प्राप्त ६७ बर्षिय रत्नबहादुर खत्री पेन्सन बुझेर घर फर्कदै थिए । बुबा बेनी आएको खवर सातसमुन्द्रपारी रहेका छोराहरूलाई जानकारी थियो । पेन्सन बुझेर केही समान लिएर घर जादै गरेका खत्रीले जन्मदिनको अवसरमा श्रीमति र नेपालमै रहेका छोराछोरीले समेत शुभकामना दिएका थिए ।

सदरमुकाम बेनीबाट भकिम्लीको हल्लेगौंडा हुदै मुसुङ जाँदै गरेको ग १ ज ७०५६ नम्बरको जीप पानीस्वाँरास्थीत हल्लेगौंडाको तल्लो घुम्तीबाट करिब ३३ मिटर तल खस्दा धर्तीमै पाइला टेकेको दिन खत्रीले विदेशमा रहेका छोराहरुको जन्मदिनको शुभकामना सन्देश नै सुन्न नपाई संसार छोडेका छन् । ‘बाबालाई कामबाट फर्किएपछि जन्मदिनको शुभकामना दिने तयारीमा थियौं,‘जन्मदिनकै दिन बाबाले संसार छोड्नुभयो’ प्रकाशले भने ।

दुर्घटनाको खवर लगत्तै सार्वजनिक भएको घाईतेको सूचीमा बुबाको नाम समेत देखेपछि तत्कालै आफन्तमार्फत नियमित अपडेट भइरहेका थिए । ‘अन्तिम खवरले बाबालाई शुभकामना दिने तयारी चकनाचुर भयो,‘केही अधुरा कामलाई छोडेर जानुभयो’ खत्रीले भने । उनले जन्मदिनको अवसरमा बुबालाई सरप्राईज उपहारहरु सधै सम्झनामा सिमित भएको बताए ।

घटनाको जानकारी पाएलगत्तै चितवनका रहेका जेठो छोरा प्रेम बेनी प्रस्थान गरेका छन् । जीपमा सवार १४ जना घाईते भएका थिए । घाईतेमध्ये १० जनाको थप उपचारका लागि पोखरा रिफर गरिएको छ । दुर्घटनामा गाउँका सक्रिय ब्यक्तित्व खत्रीको मृत्युले स्तब्ध भएको वडा अध्यक्ष पदम पुनले बताए । ‘उहाँको मृत्युको खवरले ठूmलो क्षती पुगेको छ,‘छोराहरुले गाउँमा धेरै सहयोग गर्नुभएको छ’ पुनले भने ।

मृतक खत्री समेत भकिम्लीको शिक्षा, सडक सहित विभिन्न विकास निर्माणको क्षेत्रमा सक्रिय रहेका थिए । यसबीच वडा अध्यक्ष पुनले दुर्घटनमा मृतक खत्रीको आत्मको चिर शान्तिको कामनासँगै शोकको यस घडीमा शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गरेका छन भने घाईतेको उपचारमा कुनै कमी आउन नदिने गरी सम्बन्धित यातायात ब्यवसायीलाई ध्यानर्कषण गराउने बताएका छन् । उनले बेनी नगरपालिकाबाट समेत घाईतेको उपचारमा सहयोगको माग गर्नेे बताएका छन् । मृतक खत्रीको बिहिबार कालिगण्डकी नदीमा अन्येष्टी गरिनेछ ।