आर्थिक वर्ष २०७०÷०७१ मा तत्कालीन जिल्ला विकास समितिले सिमदेखि सल्यान–भरजुला हुदै थाइवाङ जोड्ने कृषि सडक निर्माण गर्ने योजना बनायो । सल्यान र भरजुलाका बासिन्दाबीच कताबाट सडक खन्ने भन्ने विवादका कारण २०७०÷७१ मा सांसद विकास कोषबाट बिनियोजन भएको २२ लाख रुपैयाँ बजेट समेत खर्च हुन सकेन् ।हाल मंगला गाउँपालिकाको २ नम्बर वडामा पर्ने हिदीमा सडक पु¥याउने योजना बनाउन स्थानीयबासीहरुले दवाव दिइरहेका थिए । थाईवाङ सम्म आउने सडक विस्तार गरेर हिदी पु¥याउने उनिहरुको योजनामा बिवादले ठेस लाग्यो ।

हिदीबासीले जिविस र गाविसमा निरन्तर दबाब दिए । पछि सहमति जुटेर बिवाद मिल्यो । सडक पनि बन्यो । अहिले बर्खामा पनि हिदी गाउँसम्मै माइक्रोबस र जिप चल्छन् । यो कसरी सम्भव भयो ? हिदीका अगुवा कुलप्रसाद पुन सम्झनुहुन्छ ‘हामीलाई जसरी पनि गाउँसम्म बाटो चाहिएको थियो । कतैबाट सहयोग नपाउने भएपछि चन्दा उठाउने र श्रमदान गर्ने निर्णय ग¥र्यौँ । सोही अनुसार बाटो खन्यौ ।’

अहिले हिदीको टोल टोलमा सडक पुगेको छ । २०७२ मा जिविसले बिनियोजन गरेको तीन लाख ५० हजार बजेट भरजुला देखि दुई किलोमिटर सडक खन्दा सकियो । बजेट सकिएपनि हिदीबासी पछि हटेनन् । उनिहरुले चन्दा, श्रमदान, सहयोग र ऋण जुटाएर सात किलोमिटर सडक खनेर गाउमा पु¥याएका हुन् ।

बाटो खन्न गाउँका युवाहरु राती दुई बजेसम्म खटिए । महिलाहरुले उनीहरुलाई खाजा र खानाको व्यवस्था गरे । ‘यो सडकमा सरकारी पैसा भने छदै छैन्, बाटो बनेपछि गाउँसम्मै गाडी आईपुग्छ । मर्दापर्दा हामीलाई धेरै सहज भएको छ’, पुनले भन्नुभयो । हदीका १३० घरधुरीलाई ‘क’,‘ख’, ‘ग’ र ‘घ’ वर्गमा विभाजन गरियो ।

उनिहरुबाट वर्ग अनुसार क्रमश दश, आठ, छ र चार हजारका दरले चन्दा संकलन गरियो । विदेश गएकाले प्रतिघर १० हजारको दरले सहयोग गरेका छन् । सडक खन्दा लागेको ऋणले कसैले भैसी भेच्नु प¥यो । केहीले बाख्रा बेचे । कतीको अझै बाकी छ । हीदी सम्म सडक पु¥याउन थाईबाङबासी पनी करिब दुई लाख ऋणमा परेका छन् । उपभोक्ता समितिका अध्यक्ष समेत रहेका पुनका अनुसार सडक निर्माणमा ४७ लाख रुपैयाँ खर्च भएको थियो । चालीस लाख रुपैयाँ गाउँलेले जुटाएका थिए । सात लाख रुपैयाँ ऋण ब्याज बढेर अहिले दश लाख पुगेको उपभोक्ता समितिका सचिव तकप्रसाद पौडेलले बताउनुभयो ।

‘कतिपयको ऋण अझै बाँकी छ, ऋणले गर्दा घरमा झगडा समेत हुन्छ, सडक गाउँ सम्म आएपछी सहज त भएको छ तर ऋणले गर्दा गाउँलेलाई निकै सकस भएको छ,’ पौडेलले भन्नुभयो ।

हिदीमा मगर समुदायको बाहुल्य बसोवास छ । ‘गाउँसम्म सडक ल्याउन सरकारले सहयोग नगरेपछि, यो कुरा प्रवासमा रहेका दाजुभाई पनि भन्यो, कतार, साउदी अरब, मलेसिया लगायतका देशबाट पनी सहयोग प्राप्त भएको छ’, वडा सदस्य चन्द्रमान शेरपुञ्जाले भन्नुभयो, ‘गाउँको एकताले नै यो सम्भव भएको हो । सरकारको मुख ताकेर मात्र हुदैन् । त्यसो गरिएको भए अझै दश बर्ष लाग्न सक्थ्यो गाउँमा गाडी चल्न ।’

हीदी भौगोलिक हिसाबले दुर्गम मानिन्छ । तरकारी, आलु उत्पादनका लागि यो पकेट क्षेत्र हो । गाउँसम्म सडक पुगेपछि सबैभन्दा सहज यहाँका गृहिणी र व्यवसायिक किसानहरुलाई भएको छ । हीदीकै लागि भनेर बेनीबाट दैनिक रुपमा जीप, माइक्रो बस छुट्छ । गाउँमा उत्पादित सुन्तला, सिमी, आलु र तरकारी नियमित रुपमा बजार निर्यात हुन्छ ।

‘बजारबाट समान र यहाँको तरकारी बजार पठाउन समस्या छैन । पहिला भोकेरै बजार लैजाँदा कुहिुन्थ्यो, बिक्री पनि हुन्थेन्’, शेरपुञ्जाले भन्नुभयो । हिदीबासीको चाहना धार्मिक पर्यटकीय स्थल मालिका दुरी सम्म सडक जोड्नु र खनेका सडकलाई फराकिलो बनाउने छ । ‘त्यसका लागि योजना पनि बनाएका छौँ तर, अब सरकारले पनि हेरिदिनुप¥यो’, वडा सदस्य शेरपुञ्जाले भन्नुभयो । गाउँपालिकाको सहयोगमा सडकको स्तरोन्नति र मर्मत गरिदै आएको छ । सडक खन्दा लागेको ऋणको पिरलो छ । पहिलेनै खनिएको सडकको ऋण तिर्न बजेट बिनियोजन गर्न नमिल्ने गाउँपालिकाले जनाएको छ । राकेश शर्मा