जिल्ला प्रशासन कार्यालय म्याग्दीले हरितालिका तिजलाई भड्किलो नबनाउन अपिल गरेको छ । पछिल्लो समय दरखाने र तीज मनाउने पर्वभन्दा धेरै अगाडी नै तडकभडक, गरगहनामा सजिएर पार्टी प्यालेस, होटलमा हुने गतिविधिले मौलिकता माथि नै प्रश्न उठेको भन्दै परम्परागत मुल्यमान्यतालाई आत्मसाथ गदैं दर खाने, व्रत बस्ने तथा भगवान् शिवको आराधना गरी नाचगान गर्दै मनोरञ्जन गर्दै मनाइने तिज पर्व मौलिकता जगेर्ना गर्ने गरी मनाउन अपिल गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश सुबेदीले बताए ।

‘सार्वजनिक रुपमै अपिल गछौ,‘ भड्किलो क्रियाकलापले परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने अभियानलाई प्रहार गर्छ’उनले भने । तिजका नाममा विभिन्न प्रकृतिका असामाजिक क्रियाकलाप नहोस् भन्ने हेतुले सूचना जारी गरी सचेत बनाइएको उनले बताए। जिल्लाका सबै स्थानीय तहलाई समेत तीजलाई पर्वको रुपमा मनाउने वातावरण बनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तिज पर्व मनाउने नाममा विभिन्न होटेल तथा पार्टी प्यालेसमा दर खाने तथा भेटघाट कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने, फजुल खर्च गर्ने, विभिन्न सांगीतिक कार्यक्रमका नाममा ध्वनि प्रदूषण गराउनेजस्ता असामाजिक क्रियाकलापलाई रोक्न महिला आवद्ध रहेका संघसंस्थाबाट समेत सहयोगको अपेक्षा गरिएको प्रशासनले जनाएको छ ।