नेपाली सेनाले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले सबै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको जनाएको हो ।निर्देशनालयका निर्देशक सागर केसीले सबै प्रदेशहरुमा सैनिक स्कुलहरुको स्थापना गर्ने नीतिअनुरुप प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भैसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिनुभयो ।

निर्देशनालयले काठमाडौं उपत्यकाभित्र कार्यरत महिला सैनिकका सन्तानलाई लक्षित गरी छाउनीस्थित रेञ्जर रेजिमेन्ट परिसरमा मन्टेश्वरी विद्यालयको निर्माण कार्य पनि सुरु गरेको छ । वहालवाला तथा अवकाश प्राप्त सैनिक र तिनका आश्रित परिवारहरुलाई कोषले २०३४ सालदेखि निःशुल्क स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएको छ ।त्यसैगरी शिक्षा तथा सीप र स्वरोजगारमूलक विभिन्न कार्यक्रमहरु पनि निर्देशनालयले सञ्चालन गर्दै आएको छ ।