न्यू होराईजनको अभियान,‘एक विद्यार्थी एक बिरुवा’

विकास निर्माणका गतिविधिले निम्त्याएको भूक्षय र जलवायु परिवर्तनको असरलाई न्यूनीकरणका लागि एक निजी विद्यालयले ‘एक विद्यार्थी एक बिरुवा’ अभियान सुरु गरेको छ । पर्वत जलजला गाउँपालिका–३ पर्वतबेनीमा अवस्थित न्यू होराईजन आवासीय माविले अनिवार्य रुपमा बिरुवा रोपेर शुक्रबारदेखि अभियान चलाएको छ ।

विद्यालयमा गठित जुनियर रेडक्रस सर्कलका विद्यार्थीको संयोजनमा धुलेपाल्सिङ सामुदायिक बन उपभोक्ता समितका अध्यक्ष दलबहादुर जिसीको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातीका विरुवा रोपिएको थियो । ‘बिरुवा रोपेर संरक्षण गर्ने जिम्मा पनि विद्यार्थीलाई दिनुपर्छ,‘बृक्षारोपणको महत्वका बारेमा जानकारी सहित अभियान सुरू भएको छ’ विद्यालयका सञ्चालक समितिका अध्यक्ष समेत रहेका जिसीले भने । उनले बृक्षारोपणसँगै जुरेसको पहलमा रेखदेख गर्ने गरी विभिन्न कार्यक्रमहरू समेत बनाउने बताए ।

पर्वतबेनी हुदै मल्लाज जाने सडक निर्माणको क्रममा सामुदायिक बन आसपासमा बाढीपहिरोको समस्या रजलवायु परिवर्तनका कारण उत्पन्न समस्या र यसको जोखिम न्यूनीकरणका बारेमा विद्यालयका प्रधानध्यापक अर्जुन पौडेलले विद्यार्थीलाई जानकारी गराएका थिए । उनले कार्बनडाइअक्साइड सोसेर लिने हरियो बिरुवालाई प्राथमिकता दिने बताए । ‘यो अभियानको पहिलो प्रयास हो,‘जन्मदिनमा पनि अव विद्यार्थीलाई बृक्षारोपणमा प्रोत्साहन गछौ’ पौडेलले भने ।

उनका अनुसार कक्षा ७ देखि १० सम्मका करिव १ सय २० विद्यार्थीले लिची, असोका, खनिम, सिसौं, निगालो, चिउरी, अमला लगाएत विभिन्न प्रजातिका १ सय २० बिरुवा रोपेको बताए । उनले कक्षा १ देखि ६ सम्म अभिभावकले जन्मदिनमा विद्यालयलाई बिरुवा उपहार दिन अनुरोध गरिने बताए । बालबालिकाको बिरुवालाई जुरेसले संरक्षण गर्ने छ । बिरुवाका लागि जिल्ला बन कार्यालय म्याग्दीसँग समन्वय गरिएको थियो । जलवायु परिवर्तनका विषयमा विद्यार्थी बढी उत्सुक देखिएकाले लक्ष्यभन्दा धेरै बिरुवा रोप्न चाहेमा विद्यालयले निःशुल्क उपलब्ध गराउने बताइएको छ ।