अप्राकृतिक रूपमा आफ्नो जीवनलाई आफैं समाप्त पार्नु नै आत्महत्या हो । र, विश्वभर वर्षेनी ८ लाख मानिसले आत्महत्या गर्छन् । एक अध्ययन अनुसार प्रत्येक १ लाखमा २५ जनाले आत्महत्या गर्ने नेपाल विश्वमै बढी आत्महत्या गर्ने देशको सूचीमा दसौं स्थानभित्र पर्छ । पछिल्लो ४ आर्थिक वर्षको तथ्यांक केलाउँदा नेपालमा दैनिक सरदर १० जनाले आत्महत्या गरेको पाइन्छ । आर्थिक वर्ष २०७५\०७६ को तथ्यांकअनुसार पनि दैनिक आत्महत्या गर्नेको संख्या सरदर १६ छ ।

बद्दो आत्महत्याको दर

पछिल्लो ३ वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्या गर्नेको संख्या १३ दशमलब ६१ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७२\०७३ मा ४ हजार ६ सय ८०, २०७३\०७४ मा ५ हजार १ सय २४, २०७४\०७५ मा ५ हजार ३ सय १७ र २०७५\०७६ मा ६ हजार ७ सय ८४ जनाले आत्महत्या गरेका छन् ।

प्रहरीको तथ्यांकअनुसार झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । आर्थिक वर्ष २०७२\०७३ मा ३ हजार ३ सय ७६, २०७४\०७५ मा ३ हजार ८ सय ६८ र २०७५\०७६ मा ४ हजार ३ सय २७ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । विष पिएर आत्महत्या गर्नेको संख्या समग्रको दोस्रो स्थानमा छ ।

आर्थिक वर्ष २०७२\०७३ मा १ हजार १ सय ८६, २०७४\०७५ मा १ हजार ३ सय ६३ र २०७५\०७६ मा १ हजार ३ सय ३६ विष पिएर ज्यान गुमाएका छन् । हाम फालेर, करेन्ट लगाएर, हातहतियार वा औजार प्रयोग गरेर, पानीमा हाम फालेर, आगो लगाएर आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

आत्महत्याको कारण

प्रहरीका अनुसार मानसिक तनाव, पारिवारिक कलह, गरिबी, बेरोजगारी, प्रेम बियोग, असफलता, आत्महत्याका कारण हुन् । सामाजिक सञ्जालले चरित्रमा ल्याएको विचलनले पनि पछिल्लो समय आत्महत्यालाई प्रेरित गरिरहेको छ । पछिल्लो तथ्यांकअनुसार करिब १ हजार जना अर्थात २४ प्रतिशतले आवेशमा आएर आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । यस्तै, १५ प्रतिशतले पारिवारिक कलह र १५ प्रतिशतले नै नैराश्य, मानसिक तथा दीर्घ रोगका कारण आत्महत्या गरेका छन् ।

गरीबीका कारणले ७ दशमलब ५ प्रतिशत, प्रेममा धोका खाएका कारणले ५ प्रतिशत, असफलताका कारण २ दशमलब ५ प्रतिशत, आर्थिक लेनदेनका कारण २ प्रतिशत र अन्य विभिन्न कारणले २४ प्रतिशतले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ ।

आत्महत्या गर्नेमा यूवा बढि

आत्महत्याको तथ्यांक विश्लेषण गर्दा प्रायः युवावयका १५ देखि ३५ वर्ष उमेरका मानिसले बढी आत्महत्या गरेका छन् । ती युवा जो जीवनको सुरुवाती अवधिमा संघर्षरत हुन्छन् र सामाजिक तथा पारिवारिक दबाब झेलिरहेका हुन्छन् । त्यो संख्या केलाउँदा महिला र पुरुष बराबर देखिन्छ । प्रहरीले दिएको तथ्यांकअनुसार भूकम्पपछि आत्महत्या गर्नेको दर ४१ प्रतिशतले बढेको छ ।

आत्महत्या सामाजिक समस्या

व्यक्तिगत कमजोरीका रुपमा लिइए पनि आत्महत्या सामाजिक समस्या हो । बृहद् सामाजिक एकाइमा समाहित हुन नसकेपछि मानिसले आत्महत्याको बाटो रोज्छ । व्यक्तिको निजी इच्छा र चाहना बढी हुने, तर समाजले त्यसको पूर्ति हुने कुनै प्रत्याभूति दिन नसक्ने अवस्थामा आत्महत्याको संख्या बढ्छ ।

मानसिक रुपमा अस्वस्थ्य हुने मुख्य कारण गरिबी, असमान व्यवहार, द्वन्द्व, बेरोजगारी, भौगोलिक विकटता, जातीय र लैङ्गिक विभेद, सामाजिक बहिस्करण र दण्डहिनता न्यूनीकरण गर्न सके महामारीले भन्दा बढि ज्यान लिने आत्महत्याजस्तो सामाजिक समस्या घटाउन सकिने मनोविज्ञहरु बताउँछन् ।बढ्दोरूपमा मानव समाजलाई नै हल्लाउने गरी भइरहेकोे आत्महत्याको घटनाले लगातार प्रश्न खडा गरिरहेको छ । यसको कारणको खोजी गर्ने तहसम्म भने खासै बहस भएको छैन । दिनहुँजसो आत्महत्याका समाचार आउँछन, प्रहरीले मुचुल्का उठाउँछ र केसलाई फाइलमा बन्द गरिदिन्छ । आत्महत्या केवल चर्चाको विषयमात्र बन्छ । यसलाई गम्भीर समस्याको रूपमा व्याख्या गरिँदैन जबकि यो समाजमा महामारी भइसकेको छ ।

आत्महत्या महामारीका रूपमा फैलिदा पनि यसको कारणबारे गम्भीर चर्चा नहुनु दुःखद् छ । यसलाई व्यक्तिगत कारण हो भनेर पन्छाइन्छ । समाजलाई नै सही दिशामा हिँडाउन नसक्दा यो महामारी अझ फैलिने निश्चित छ । विज्ञका अनुसार आत्महत्याको मुख्य २ कारण छन्–मानोवैज्ञानिक र सामाजिक ।

शारीरीकसँगै मानसिक विकास कमजोर भयो भने सो व्यक्ति आत्महत्या गर्ने स्थितिसम्म पुग्छ । अर्कोतर्फ समाजसँगै अगाडि बढ्न नसक्दा पनि व्यक्तिले आत्महत्याको बाटो रोज्छ । सञ्चारको विकाससँगै मानिसको रहन–सहनमा पनि परिवर्तन भएको छ । समाजिक सञ्जालमा कतिपयले तडकभडक गरिएका फोटो पोस्ट गर्दछन् । अरू पनि त्यसैको पछाडि दौडिन खोज्दा आर्थिक अभाव तथा अन्य कुराको परिपूर्ति गर्न अवसम्भव हुने कारणले पनि आत्महत्या गर्ने स्थितिसम्म पुर्याउँछ ।

मानिसले किन आत्महत्या गर्छन् भन्ने ठ्याक्कै भन्न नसकिए पनि ९० प्रतिशत कारण मानसिक स्वास्थ्य समस्या नै हो । मानसिक समस्यालाई समाजले राम्रो नजरले नहेर्ने गलत सोचका कारण यस विषयमा खुलेर कुरा गर्न नसक्दा आत्महत्याको दर बर्षेनी बढिरहेको छ ।तर, समयमै उचित कदम, सजकता, ध्यान एवं उपचार पाएमा आत्महत्या गर्ने दृढ संकलल्प गरेकालाई बचाउन सकिने उनीहरुको भनाइ छ । उदासीपनलाई बेलैमा चिनेर उपचार गर्न सकिए निरन्तर बढीरहेको आत्महत्या दर ७० प्रतिशतसम्म घटाउन सकिने मनोरोग चिकित्सकले औंल्याउँदै आएका छन् । news24nepal.tv