साउन महिनामा परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको घण्टाकर्ण नामक राक्षसलाई बजार परिक्रमापश्चात म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर बिसर्जन गरिएपछि राक्षसकी श्रीमतीले पति वियोगमा करिब एक महिना चरित्र प्रदर्शन गरिने  ठूल–ठूला आँखा, दाह्रा निस्केको डरलाग्दो रुप भएको, कम्मरसम्म लटिकएको लामो लट्टा सहितको हेर्दै डरलाग्ने मुखौटाले बेनीबजारमा बालबालिका त्रसित हुने गर्दछन् । लाखे बजारमा आउँदा धेरै बालबालिकाहरू घरभित्रै बस्छन् । लाखे आयो भन्दै अभिभावकले आफ्ना छोराछोरीलाई कावुमा राख्ने गरेका हुन्छन् ।

लाखेको नाच र अन्य गतिविधिभन्दा पनि बालबालिका मुखौटा अर्थात मुकण्डोबाटै त्रसित हुन्छन् । लाखेलाई हायलकायल बनाउने जोकरसँगै हुन्छ । बेनीबजारमा मानवबस्तीको विस्तारसँगै नेवार समुदायले विभिनन प्रकारका नाचहरूमध्ये सबैभन्दा धेरै कम्तिमा एकमहिनामै सातपटकसम्म प्रर्दशन गरिने लाखे नाचमा लाखे अर्थात घण्टाकर्णकी श्रीमतिले लगाएको मुखौटा बेनीमा नेवार समुदायको आगमन भएको ९ औं पुस्तासम्म आइपुग्दा समेत प्रयोग भइरहेको छ ।

पहिलो पुस्ताले ल्याएर आएको मुखौटोलाई ९ पुस्ताले समेत प्रयोग गरिरहेको यूवा रमेश श्रेष्ठले बताए । छिमेकी पर्वत, बागलुङका साथै पाल्पा, भक्तपुर लगाएत विभिन्न जिल्लाबाट बसाई सर्दै आउँदा आफ्ना संस्कृति, रीति–रिवाज, लवाइखवाइ जस्ता आफ्ना पहिचान पनि सगै लैजाने गरेकाले भक्तपुरबाट ल्याइएको बुढापाकाको भनाई रहेको श्रेष्ठले बताए । मुखौटा देशका अन्य जिल्लाको तुलनामा आर्कषक रहेकाले पनि चर्चा हुने गरेको छ ।

पहिले तोरीको तेलले सफा गरिन्थ्यो, अहिले इनामेलको प्रयोग भइरहेको छ’ ल्याम पुचःका अध्यक्ष सुवीन श्रेष्ठले भने । मुखौटो विस्तारै जीर्ण बन्दै गएको बताए । करिव साढे दुईसय बर्ष यता एउटै मुखौटा प्रयोग गरिरहेको बताइन्छ । बर्खेनाचको सुरूवात लाखेको पति अर्थात घण्टाकर्ण नामक राक्षसको अन्त्यबाट हुन्छ भने हिन्दू नेपाली महिलाको महानपर्व तीजको साँझमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले वध गरेपछि सकिन्छ ।

हिन्दू धर्म अनुसार द्वापरयुगमा भगवान श्रीकृष्ण र उनका मामा कंशबीचको लडाईंको अभिनय गरी नाचिने लाखे नाच झन्डै एक महिनासम्म नाच्ने गरिन्छ। नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गराएको बताइएपनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाई लाखे नाच नाच्ने गरेको विभिन्न पुस्तकमा उल्लेख छ ।बेनीमा लाखेनाच, गोरु नाच, रोपाई, जोगी, नागानागिनी, श्रीकृष्ण र रथ यात्रासहित विविध नाच देखाइने गरिएपनि जनशक्तीको अभावले रोपाई सहित केही पूराना नाचहरू लोप हुन थालेका छन् ।