जेनिशा पुरी/- लिजा पाईजाले बजारमा रक्षाबन्धन खरिद गर्न जाने योजना छैन् । जनैपूर्णिमा आउनु अगाडी नै भाई मोहिपलाई चाहिने रक्षाबन्धन तयारी बनाइसकेकी छन् । पाईजाजस्तै अश्लेषा शर्माले पनि भाई अप्सन र निश्मा छन्त्यालले जेनिशलाई आवश्यक पर्ने रक्षाबन्धन तयारी गरिसकेकी छन् । म्याग्दीको सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविले विद्यार्थीलाई जीवन उपयोगी सीपलाई प्राथमिकता दिदैं चाडपर्वमा बजारमा खरिद गर्ने साम्रागी बनाउन, घरायसी काम, तरकारी खेती लगाएतका विभिन्न सीपमुलक तालिमहरू दिने गरेको छ ।

‘रक्षाबन्धन बनाउन सिके,‘अव मैले आफ्नै हातले बनाएको रक्षाबन्धन प्रयोग गर्छु’ विद्यार्थी लिजाले भनिन् । आधारभुत तहमा अध्ययरत विद्यार्थीले रक्षाबन्धन बनाउन आवश्यक पर्ने साम्रागीको ब्यवस्थापन विद्यालयले गरिदिएपछि कक्षा कोठामै शिक्षकको उपस्थितीमा बनाउने गरेको विद्यालयका शैक्षिक निर्देशक राजु केसीले बताए । ‘कितावी ज्ञानमा मात्रै सिमित गरेका छैनौ, ब्यवहारिक ज्ञानलाई प्राथमिकता दिन्छौ’केसीले भने ।

उनका अनुसार सिलाई कटाई, कपडामा आइरन लगाउने तयारी, तरकारी खेती लगाएत विद्यार्थीलाई दैनिक जीवनका विभिन्न गतिविधिलाई केन्द्रित गरी साप्ताहिक ज्ञान दिने गरिएको बताए । बालबालिकालाई उच्च नैतिक संस्कारसँगै समाजमा घुलमिल हुनसक्ने ब्यवहारिक सीप पनि सिकाउने तालिका नै बनाइएको केसीको भनाई छ । आधारभुत तहदेखि कक्षा १० सम्म पाठ्यक्रमसँग जोडेर ब्यवहारिक शिक्षा दिने गरिएको विद्यालयका कार्यवाहक अध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

जीवनउपयोगी सीप कक्षाहरू सञ्चालन गरिने बताए । उनले शैक्षिक परामर्श, अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण, नृत्य, गायन, चित्रकला, हस्तकला, अभिनय, ह्याण्डराइटिङ लगायत थुप्रै प्रतियोगिताहरुले विद्यार्थीको प्रतिभाको विकासँगै उत्कृष्टताको मापन गर्न सहज भएको बताए । ‘विद्यार्थीलाई गुणस्तरीय शिक्षासँगै बजारमा बिक्ने शिक्षालाई प्रोत्साहन गरिएको छ’ श्रेष्ठले भने ।

उनका अनुसार ब्यवहारिक सीपले विद्यार्थीलाई अनुशासनमा रहन प्रोत्साहित गर्ने गरेको बताए। विद्यालयले हरेक शुक्रबार सीपमुलक तालिमलाई प्राथमिकता दिने गरेको छ । विद्यालयभित्रसँगै फिल्डमा गएर समेत सिक्ने अवसर दिएको जनाएको छ ।