टाउकोमा पिप जमेर सिकिस्त विरामी भएकी एक बालिकाको उपचारमा धौलागिरी नौमति बाजा समुहले आर्थिक सहयोग जुटाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम दर्मिजाकी साढे ३ बर्षकी खुशी गर्बुजाको उपचारमा समुहले यूकेमा ३ लाख २९ हजार ३९० रुपैयाँ सङ्कलन गरेको हो ।

निमोनियाबाट ग्रसित गर्बुजाको सिटी स्क्यान गर्दा टाउकोमा पिप जमेको अवस्थामा आर्थिक अभावले उपचारमा समस्या देखिएपछि समुहले यूकेमा संकलन गरेको आर्थिक आइतबार पीडित बालिकाका बुबा तुलप्रसाद पुनलाई याम बहादुर पुर्जा पुन (थाइला झाँक्री) ले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

‘सहयोगले उपचारमा ठूलो राहत भएको छ,‘सहयोगदाताकै प्रयासबाट छोरीले नयाँ जीवन पाएकी छन्’ तुलप्रसादले भने । उनले सोमबार पुनः थप उपचारका लागि अस्पतालमा भर्ना गर्ने बताए । यूकेमा नौमति बाजाको संरक्षण सहित विभिन्न सामाजिक तथा मानवीय सेवामा सक्रिय रहेको समुहका अध्यक्ष बिल पूर्जाले अभियानमा आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

उनले नेपालको मौलिक कला र संस्कृतिको संरक्षण सहित मानवीय सहयोगमा समेत समुहको निरन्तर अभियान सञ्चालन गरिरहेको बताए । उनले अभियानमा समुहका निर्वतमान अध्यक्ष अमृत गर्बुजा सहित अञ्जना पुर्जा र प्यारी गर्बूजाको भूमिका महत्वपूर्ण रहेको बताए । बालिकाको नियमित औषधी सेवन तथा उपचारको आवश्यकता जनाइएको छ ।

विज्ञापन