साउनको अन्तिम सोमबार गलेश्वरमा यस्तो देखियो (भिडियो)

यस वर्षको साउन महिनाको अन्तिम सोमबार म्याग्दीको गलेश्वर मन्दिरमा करिब ३० हजार भक्तजनहरुले पुजाआजा गरेका छन् । बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । मन्दिरमा पुजा गर्नका लागि म्याग्दीसहित चितवन, कास्की, तनहुँ, रुपन्देही, नवलपरासी, पर्वत र बागलुङ जिल्लाबाट भक्तजनहरु आएको क्षेत्र विकास कोषका सचिव माधवप्रसाद रेग्मीले जानकारी दिए ।

साउन महिनाको प्रत्येक सोमबार विशेष गरी विवाहित महिलाहरु श्रीमानको दिर्घायु र अविवाहितहरु आफ्नो मनोकामना पुरा हुने इच्छासहित चोखो, निष्ठा गरी ब्रत बस्ने र शिव मन्दिरमा गई पुजा गर्ने गर्दछन् ।

भगवान् शिवजीलाई मनपर्ने साउन महिना र सोमबारका दिन हातमा मेहेन्दी तथा हरियो चुरा लगाई हरियै पहिरनमा सजिएर महिलाहरू शिवालय जाने गर्छन्। सत्ययुगमा पार्वतीको गलापतन भएर गलेश्वर नामाकरण भएको मन्दिर प्रसिद्ध मुक्तिनाथ क्षेत्र प्रवेशद्धारको रुपमा अवस्थित छ ।

पवित्र कृष्णागण्डकी (कालीगण्डकी) नदीबाट उठेर ९ रोपनी क्षेत्रफलको एउटै चट्टानमा फैलिएर रहेको प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।